लन्डन बन्यो नेपालमय, नेपाली मेला हेर्न हजारौं
लन्डन । लन्डनको केम्पटन पार्क रेसकोर्स आइतबार नेपालमय बन्यो । १३ औं नेपाली मेलामा बेलायतका झण्डै तीन दर्जन जातीय तथा सामाजिक संघसंस्थाले आफ्नो मौलिक कला संस्कृति, भेषभूषा, रहनसहन र परम्परा उजागर गरे । मेलाको नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ थियो ।
आयोजक तमुधिं यूके भएपनि मेलामा सबै जातजातीको प्रतिनिधित्व देखिन्थ्यो । प्रमुख अतिथी राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतमा अर्को ‘सिंगो नेपाल’ झल्किएको उल्लेख गरे ।
नेपालको विविधता झल्कने गरि ठूलो महोत्सव गरेकामा आयोजकलाई धन्यवाद दिंदै राजदूतले नेपालबाट निकै टाढा रहेपनि आफ्नो कला संस्कृति, परम्परा, भेषभूषा र भाषा जीवन्त बनाउन मेलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । दूतावासले समेत मेलालाई सहयोग गरेको थियो ।
आयोजक तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङले सन् २००९ देखि शुरु नेपाली मेला सबैको साझा मेला बनेको उल्लेख गरे । आर्थिक चुनौतिबीच सबैको साथ सहयोगले मेला सफल भएको उनले सुनाए ।
तमुधिं यूके महासचिव परशुराम गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक एवं तमुधिं यूके उपाध्यक्ष हरि गुरुङले मेलाको उद्देश्यबारे प्रकाश पारे ।
नेपाली संस्कार संस्कृतिको जगेर्ना, नयां पुस्तालाई मेलामार्फत कुलतमा नलाग्न प्रेरित गर्ने, स्थानीय समुदायसंग मित्रता बढाउने र अन्तरघुलन गर्ने मेलाको प्रमुख उद्देश्य रहेको उनले सुनाए ।
एम्बासडर कप घान्द्रुक समाज यूकेलाई
मेलामा प्रस्तुत सांस्कृतिक झांकी र नृत्यहरुमध्ये सर्वोत्कृष्ट बन्दै यस वर्षको एम्बासडर कप घान्द्रुक समाज यूकेले जित्यो । गत वर्षको विजेता सिक्लेस पार्चे समाज यूके दोस्रो र तमु समाज यूके तेस्रो स्थान प्राप्त गर्न सफल भए।
लन्डनस्थित नेपाली दूतावासले प्रायोजन गरेको ‘एम्बासडर कप’ विजेता घान्द्रुक समाज यूकेले नगद ११ सय पाउन्डसहित कप प्राप्त गरयो । दोस्रो स्थान जित्ने सिक्लेस पार्चे समाज यूकेले नगद ७ सय पाउन्ड र तेस्रो स्थानको तमु समाज यूकेले नगद ५ सय पाउन्डसहित पुरस्कार पाए।
मेलामा प्रस्तुत झांकीहरुमध्ये उत्कृष्ट बन्दै सिक्लेस पार्चे समाज यूके पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो। त्यस्तै, झाँकीतर्फ दोस्रो र तेस्रो स्थान क्रमशः घान्द्रुक समाज यूके र किरांत राई यायोक्खाले ओगट्न सफल भए।
सांस्कृतिक नृत्य प्रतियोगितामा भने तमु समाज यूके उत्कृष्ट बन्दै पहिलो स्थानमा आउँदा घान्द्रुक समाज यूके दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो।
झाँकी र नृत्य दुवै विधामा प्रथम, दोस्रो र तेस्रो हुने संस्थाले क्रमशः पांच सय, तीन सय र दुई सय पाउन्ड नगद पुरस्कार प्राप्त गरे।
विभिन्न संघसंस्थाद्वारा प्रस्तुत झाँकीहरुको मूल्यांकनका लागि निर्णायकहरुमा विमला सेने, गोमा राना, प्रमिला लाबुङ राई, पदम गुरुङ र कल्पना राई थिए ।
नृत्य प्रतियोगितामा निर्णायकको भूमिका सरु रानामगर, कृष्ण गुरुङ र कविता घर्तीमगर गुरुङले निर्वाह गरेका थिए ।
मेला हेर्न छिमेकी देश भारत, पाकिस्तान र बंगलादेशका कूटनीतिज्ञसहित झण्डै ५ हजार नेपाली सहभागी थिए । तस्विरहरु- शिव भण्डारी