एनआरएनए १४औं युरोपियन क्षेत्रीय सम्मेलनको तयारी तीव्र
लन्डन । गैरआवासीय नेपाली संघ युरोप क्षेत्रले आउंदो सेप्टेम्बर २४ र २५ तारिख १४औं युरोपियन क्षेत्रीय बैठकसँगै १२औँ महिला, युवा तथा विज्ञ सम्मेलन गर्ने भएको छ ।
स्वीडेनको राजधानी स्टकहोममा रुपान्तरणका लागि साझेदारी नारासहित हुन लागेको सम्मेलनको आन्तरिक तयारी भइरहेको आयोजकले जनाएका छन् ।
भेला सफल तुल्याउन क्षेत्रीय पदाधिकारीहरूको बैठकले विभिन्न समिति, उपसमिति गठनसंगै विभिन्न निकायसंग छलफल गरिरहेको क्षेत्रीय संयोजकद्वय तथा भेला आयोजक समितिका अध्यक्ष सन्तोष भट्टराई र चिन्तामणि सापकोटाले एक विज्ञप्तिमार्फत जनाएका छन् ।
भेला आयोजनाका निमित्त क्षेत्रीय संयोजकद्वयको अध्यक्षतामा युरोप क्षेत्रका पदाधिकारीहरू, यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरू, सम्बन्धित राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष र महासचिवलाई पदेन सदस्य र युरोप क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय पदाधिकारीलाई समितिको पदेन सल्लाहकारको जिम्मेवारी प्रदान गरी एक वृहत आयोजक कमिटी गठन गरिएको जनाइएको छ ।
समितिको सदस्यसचिवको जिम्मेवारी विगत परम्परालाई निरन्तरता दिंदै आयोजक राष्ट्रका अध्यक्ष राजकुमार पाठकलाई दिइएको छ ।
‘हामी यसपटकको क्षेत्रीय भेलाका हरेक कार्यक्रमभित्र युवा र महिलाको भूमिका एवं सहभागिता खोज्नुका साथै ब्यवहारिक जीवनमा रूपान्तरणको प्रयासका लागि प्रयत्नशील रहनेछौं । हाम्रो विश्वास छ– नाराजस्तै कामबाट पनि हामीले गैरआवासीय नेपालीजनको भावना समेट्ने छौं’, विज्ञप्तिमा छ ।
‘गैरआवासीय नेपाली संघ नेपाल सरकारको सच्चा साझेदार हो भने नेपाल र नेपालीहरूको विश्वास पनि हो । हामी हाम्रा सबै गतिविधि र कार्यक्रममा समस्त निकाय, संस्था र सरोकारवालाहरूसँग परिणाममूखी सहकार्य गर्न चाहान्छौँ । हाम्रा गतिविधिहरू रूपान्तरणको निम्ति केन्द्रीत गर्न चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५