मंगलबार, मंसिर ११, २०८१
09:43 | १५:२८

श्रीलंकामा आर्थिक संकट कायमै, ३०० बढी वस्तुमा आयात प्रतिबन्ध

रासस/एएफपी अगस्ट २४, २०२२

दुई करोड २० लाख जनसङ्ख्या भएको दक्षिण एशियाली टापु राष्ट्रले विदेशी मुद्राको अभावका कारण धेरै आवश्यक वस्तुको चरम अभाव झेल्दै आएको छ । तस्बिर- सिन्हवा

कोलम्बो, ८ भदौ –श्रीलंकाले आयात प्रतिबन्धलाई कडाइ गर्दै थप ३०० भन्दा बढी वस्तुमा प्रतिबन्ध लगाएको छ ।

आर्थिक संकटका कारण महिनौँदेखि आवश्यक बस्तु तथा सामानमा अभाव सिर्जना हुने गरेको छ । आर्थिक संकटका कारण सुरू भएको देशब्यापी आन्दोलनको बलमा सो समय देशको नेतृत्व गर्दै आएका राष्ट्रपति गोटावाय राजापाक्षलाई पदच्यूत गरिएको थियो ।

राष्ट्रपतिको कार्यालयलाई प्रदर्शनकारीले घेराउ गर्दै कब्जा गरेपछि उनी सेनाको सहयोगमा माल्दिभ्स हुँदै सिंगापुर पुगेर राजिनामा घोषणा गरेका थिए । उनी अहिले थाइल्याण्डमा छन् र स्वदेश फर्कन चाहेको उनको पार्टीले जनाएको छ ।

गत जुलाइमा राजापाक्षलाई पदबाट हटाएपछि राष्ट्रपति रनिल विक्रमासिङ्घेले विदेशबाट श्रीलंका आयात हुने घरेलु उपकरण र खेल सामग्रीलगायतका सामानमा प्रतिबन्ध लगाएका थिए ।

दुई करोड २० लाख जनसङ्ख्या भएको दक्षिण एशियाली टापु राष्ट्रले विदेशी मुद्राको अभावका कारण धेरै आवश्यक वस्तुको चरम अभाव झेल्दै आएको छ । केन्द्रीय बैंकले गत साता विदेशी मुद्राको अभाव कम हुँदै गएको घोषणा गरे पनि नयाँ प्रतिबन्ध लगाइएको हो ।

यद्यपि, श्रीलंकाको अर्थतन्त्र यस वर्ष अपेक्षा गरिएभन्दा ८.० प्रतिशतले खुम्चिने अनुमान गरिएको छ र सेप्टेम्बरसम्ममा मुद्रास्फीति ६५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।

विदेशी मुद्राको अभावका कारण श्रीलंकाले अप्रिलमा आफ्नो ५१ अर्ब अमेरिकी डलरबराबरको बाह्य ऋणको भारी तिर्न असफल भएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको एक प्रतिनिधिमण्डलले बुधबार श्रीलंकाका अधिकारीहरूसँग कर्जा सहयोगका लागि वार्ता जारी राख्ने कार्यक्रम छ । तर श्रीलंकाको सबैभन्दा ठूलो ऋणदातामध्ये चीनले आफ्नो ऋणको पुनर्संरचना गर्न इन्कार गरेमा आइएमएफको सहायतामा ढिलाइ हुन सक्छ ।

बेइजिङले विद्यमान ऋणमा कटौती गर्नुको साटो थप ऋण जारी गर्ने आफ्नो प्रस्तावबाट सार्वजनिक रूपमा पछि हटेको छैन ।

श्रीलंकाका लागि विदेशी मुद्राको प्रमुख स्रोतका रुपमा रहेको विप्रेषण गत वर्षको सोही अवधिको तुलनामा छ महिनामा ५० प्रतिशतले घटेर एक अर्ब ६० करोड अमेरिकी डलरमा झरेको छ ।

७३ वर्षीय राजापाक्ष गत जुलाईमा उनको सरकारी निवासमा प्रदर्शनकारीले आक्रमण गरेपछि महिनौँसम्म चलेको विरोध प्रदर्शनपछि भागेर सिङ्गापुर पुगेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू