मंगलबार, माघ १, २०८१
11:35 | १७:२०

भारतमा भारी वर्षा र बाढीबाट ५० को मृत्यु

रासस/सिन्ह्वा अगस्ट २२, २०२२

उत्तर प्रदेशको प्रयागराज जिल्लामा पर्ने गंगा यमुना नदीको बहावबाट आफ्नो डुंगा तान्दै एक माझी । तस्बिर- सिन्हवा

नयाँदिल्ली, ६ भदौ–भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् ।

पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको यहाँका उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।

हिमाञ्चल प्रदेशको उत्तरी पहाडी क्षेत्रमा पहिरो गएको छ । त्यसमा परेर ३६ जनाको ज्यान गएको भारतीय पत्रिका हिन्दूस्तान टाइम्सले जनाएको छ । त्यहाँ अरु केही अझै बेपत्ता छन् ।

त्यसैगरी उडिसा र झारखण्डमा पनि भारी मात्रामा वर्षा र पहिरो गएको छ । यहाँ कतिपय विदेशी पर्यटकहरु थुनिएका र चेपिएका छन् । उनीहरुको उद्धार जारी रहेको बताइएको छ ।

यसअघि यहाँ आइतबार नै पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको समाचार आएको थियो ।

बाढीपहिरो प्रभाावित राज्यका पुल, सडक र राजमार्ग नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ । बाढीपहिरोका कारण चेपिएका हजारौँ स्वदेशी तथा विदेशी पर्यटकको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू