प्रवासी मञ्च यूकेमा मिडल्यान्ड क्षेत्रबाट उपाध्यक्ष र सचिव दाबी गरिने
लन्डन-नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च यूकेको सातौँ अधिवेशन नजिकिँदै गर्दा अब विभिन्न पदका आकांक्षीहरु बिस्तारै खुल्ने क्रम शुरु भएको छ।
आगामी सेप्टेम्बर चार तारिख अल्डरसटमा हुने अधिवेशनबाट चयन हुने कार्यसमितिमा बेलायतको मिडल्यान्ड क्षेत्रबाट पनि दुई पदाधिकारीसहितको प्रतिनिधित्व दाबी गरिने भएको छ।
मञ्चको मिडल्यान्ड एन्ड नर्थ क्षेत्रीय कमिटीले आफ्नो क्षेत्रबाट एक उपाध्यक्ष र एक सचिव गरी दुई पदाधिकारीसहित केही सदस्यहरुमा दाबी गर्ने निर्णय गरेको अध्यक्ष शम्भु अर्यालले बताए।
‘बेलायतका हरेक सामाजिक संघसंस्था र अभियानमा मिडल्यान्डले प्रभावशाली उपस्थिति जनाउंदै आएको छ। यो क्षेत्रमा हाम्रो संगठनको जग पनि निकै बलियो छ’, अध्यक्ष अर्यालले भने, ‘त्यसैले अब निर्वाचित हुने बेलायतको केन्द्रीय कमिटिमा हाम्रो सशक्त दाबी अघि सार्ने निर्णय भएको छ।’
शनिबार बसेको कमिटीको बैठकले गोविन्द सापकोटा, केशरी क्षेत्री र भूपेन्द्र पाठकलाई सल्लाहकार मनोनित गरेको छ भने बाँकी तीन सल्लाहकार आगामी बैठकमा थपिने भएको छ। बैठकले वार्षिक रुपमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने, अन्य सामाजिक संघसंस्थासँग सहकार्य गर्ने र मिडल्यान्डमा संगठनको सदस्यता बिस्तार गर्ने निर्णय गरेको छ।
त्यस्तै, आसन्न मञ्चको यूके केन्द्रीय कमिटीको अधिवेशनका लागि ४ सय पाउन्ड सहयोग पठाउने निर्णय गरिएको छ।
कमिटीका अध्यक्ष अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा यूके केन्द्रीय कमिटी उपाध्यक्ष एवम् सल्लाहकार पशुपति पोखरेल, नवीन गौतम र कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता थियो।
प्रवासी नेपाली मञ्च यूकेको नयाँ नेतृत्वका लागि अहिलेसम्म वर्तमान अध्यक्ष सुरेन्द्र थपलिया र वरिष्ठ उपाध्यक्षहरु तुंगभद्र भुषाल र सरस्वती केसीले दाबी गरेको मञ्चनिकट स्रोतले जनाएको छ।
अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन पार्टीका विदेश विभाग प्रमुख एवम् प्रवास इन्चार्ज राजन भट्टराई आउंदैछन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५