मंगलबार, माघ १, २०८१
18:25 | ००:१०

आरोहणमा सानु शेर्पाको विश्व कीर्तिमान, भव्य सम्मान

रासस अगस्ट २०, २०२२

प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बालुवाटारमा आरोही सानु शेर्पालाई स्वागत गर्दै । तस्बिर-रोशन सापकोटा, रासस

काठमाडौं । आठ हजार मिटरभन्दा अग्लो विश्वका १४ वटा हिमालको दुईपटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने आरोही सानु शेर्पालाई सरकार तथा निजी क्षेत्रको तर्फबाट भव्य सम्मान गरिएको छ ।

आरोहण सकेर आजै काठमाडौँ फर्किएका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल पर्वतारोहण संघ, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र पर्यटन क्षेत्रका अगुवा संस्थाहरूले स्वागत गरेका थिए ।

यही महिना पाकिस्तानको गासरब्रमु दोस्रोको सफल आरोहण गरी शेर्पा विश्वमा रहेका आठ हजार मिटरमाथिका १४ वटै हिमाल दोहोरयाएर आरोहण गर्ने विश्वकै पहिलो र एक्लो आरोही बनेको नेपाल पर्वतारोहण संघले जनाएको छ ।

कीर्तिमानी आरोही शेर्पालाई विमानस्थलमा स्वागतपछि रयालीसहित सहर परिक्रमा गराइएको थियो । विमानस्थलबाट तीनकुने, बानेश्वर थापाथली, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै त्रिदेवीमार्ग सञ्चयकोष ठमेलबाट ठमेल परिक्रमा गरी नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सम्मान गरिएको थियो ।

सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाले सन् २००६ बाट आरोहणयात्रा सुरु गरेका थिए । पहिलोपटक चोयो हिमालको आरोहण गरेर १६ वर्षको अवधिमा आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान कायम गरे । उनले हालसम्म आठ हजार मिटर अग्गा हिमालको ४९ पटक आरोहण गरिसकेका छन् । उनले सर्वोच्च शिखर सगरमाथाको सातपटक आरोहण गरेका छन् भने पाकिस्तानको केटु दुईपटक आरोहण गरेका छन् ।

कीर्तिमानी आरोही शेर्पाले आफ्नो आरोहणको कीर्तिमानले सिङ्गो देशको गौरव बढाएको बताए । उनले आरोहणलाई व्यवस्थित गर्दै आरोहीको सामाजिक सुरक्षाको विषयमा ध्यान दिनसकेको खण्डमा नेपालको पर्वतारोहण विश्वको आकर्षण र उदाहरणीय बन्ने विश्वास व्यक्त गरे ।

यस्तै आठ हजारभन्दा अग्ला १४ वटै हिमचुलीहरूको पहिलोपटक सफल आरोहण गरेका अर्का कीर्तिमानी आरोही निमा ग्याल्जेन शेर्पालाई पनि स्वागत तथा सम्मान गरिएको छ । सन् २००३ देखि हिमाल आरोहण सुरु गरेका दोलखाका आरोही शेर्पाले हालसम्म आठ हजार मिटर अग्ला हिमाल ४४ पटक आरोहण गरिसकेका छन् । उनले सगरमाथाको नौपटक आरोहण गरेका छन् ।

हालसम्म छ जना नेपाली आरोहीले विश्वमा रहेका १४ वटा आठ हजार मिटर अग्ला हिमाल आरोहण गरेका छन् । हालसम्म विश्वका ४४ आरोहीले १४ वटै हिमालको आरोहण गरेको रेकर्ड रहेको नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए ।

उनले आरोहीको कीर्तिमानले नेपालको मान र सान दुवै बढाएको बताए । उनले पर्वतीय पर्यटनको विकास भएमात्रै मुलुकको समग्र पर्यटन क्षेत्रको विकास हुने भन्दै आरोहणलाई व्यवस्थित र प्रभावकारी बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीबाट पनि सम्मान

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व कीर्तिमानी पर्वतारोहीहरूलाई सम्मान गरेका छन् । प्रधानमन्त्री देउवाले आज बालुवाटार बोलाएर कीर्तिमानी आरोही सानु शेर्पा, निमा ग्याल्जेन शेर्पा र पासाङ ल्हामु शेर्पालाई बधाई तथा सम्मान प्रकट गरेको नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले कीर्तिमानी आरोहीले हिमाल आरोहणमा बनाएको कीर्तिमानले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा थप पहिचान प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पर्वतारोहीको प्रशंसा गरेका थिए ।

कीर्तिमानी आरोहीलाई नगदसहित राष्ट्रिय सम्मान गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई निर्देशन दिएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै संघका महासचिव लम्सालले बताए ।

कीर्तिमानी आरोहीका साथ पर्यटनमन्त्री श्रेष्ठ, सांसद जिपछिरिङ लामा, पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पालगायत पर्यटन व्यवसायीहरू बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्रीबाट सम्मान भएलगत्तै आरोही टोलीलाई नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सम्मान गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू