बुधबार, माघ २, २०८१
06:23 | १२:०८

तिगेलाको ‘ह्वाइ चाइना इज नट रिप्लेसिङ अमेरिका’ पुस्तक विमोचित

नेपाली लिङ्क अगस्ट १५, २०२२

लन्डन । बेलायतवासी लेखक तथा पत्रकार विश्वास दीप तिगेलाद्धारा लिखित ‘ह्वाइ चाइना इज नट रिप्लेसिङ अमेरिका’ पुस्तक विमोचन भएको छ ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आइतबार एक समारोहबीच सो पुस्तक विमोचन गरेका हुन् ।

क्यान्टवरी यूनिभर्सिटीबाट राजनीतिशास्त्रमा डिग्री र अन्तर्राष्ट्रिय सम्बन्धमा माष्टर्स डिग्री गरेका तिगेलाले माष्टर्स डिग्रीको निमित्त तयार गरि बुझाएको शोधपत्रलाई नै इण्डिपेन्डेन्ट पब्लिकेशन यूकेले पुस्तकका रुपमा प्रकाशन गरेको हो ।

तिगेलाले पुस्तकमा चीनलाई घेर्ने पश्चिमा रणनीति जारी रहेका वखत तिगेलाले चीनको तिब्बत समस्या, सिन्ज्याङ प्रान्तको उहीगुर मुस्लिमहरुमाथिको दमन, ताइवान र हङकङ समस्या तथा दक्षिण चीनको सामुन्द्रिक झगडाबारे उल्लेख गरेका छन् ।

लेखक तिगेलाले विश्वलाई प्रभाव पार्ने चिनिया प्रोजेक्ट ‘वेल्ट एण्ड रोड इनिसिएटिभ’, वर्ल्ड बैंक र आइएमएफमार्फत जारी पश्चिमाहरुको प्रभावलाई निस्तेज गर्न बनेको ब्रीक्स एलायन्स्, चीन र रसिया बीचको सैन्य सम्बन्ध तथा सम्झौता, चीन सरकारको राजनैतिक संरचना, चिनिया कम्युनिष्ट प्रणालीको प्रकृति, चीन सरकारले आदिवासी जनजातिहरुलाई दिने हक अधिकार र सेवासुविधा, चिनिया राजनैतिक पिता माउत्सेतुङ, चिनिया अर्थतन्त्रका पिता दाउसेपिङ र वर्तमान राष्ट्रपति सी जिङपिङले प्रतिपादन गरेको भनिएको चिनिया विशेषताको समाजवादबारे पनि पुस्तकमा समेटेका छन् ।

चिनिया नेता माउत्सेतुङले शक्ति बन्दुकको नालबाट निस्कन्छ तर त्यसको ठिक विपरित चिनिया शक्ति सावल र सिमेन्टबाट निस्किएको टिप्पणी गरेका थिए । संरचना निर्माण गर्ने शक्तिकै कारण सिंगो अफ्रिका, ल्याटिन अमेरिका र आँशिक एसिया चीनको पछि लागेका छन् तथापि चीनको प्रभाव रोक्न र सिमित भूमिकामा राख्न अमेरिका लगायत सिंगो पश्चिमा लगायत फाइभ आई मुलुकहरु हरसम्भव तिकडम गरिरहेको अवस्था एकातिर छ भने अर्कोतिर अरु देशको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने जस्ता एकलकाटे चिनिया परराष्ट्र नीतिका कारण अहिले नै चीनले अमेरिकाको अन्तर्राष्ट्रिय भूमिकालाई प्रतिस्थापन गर्न नसक्ने तिगेलाको निर्क्योल छ । तर केही समय पछाडि भने सो सम्भव नकार्न नसकिने पुस्तकमा छ ।

लेखक तिगेलाले पुस्तक विमोचन समारोहमा अन्य मुलुकमा आदिवासी जनजातिहरुको हकअधिकारलाई कसरी संवैधानिक रुपबाट सुरक्षित र ब्यवस्थित गरिएको छ भन्नेबारे चीन, क्यानडा र भारतको ब्यवस्था सम्बन्धमा प्रिजेन्टेशन दिएका थिए ।

नेफिन यूकेका अध्यक्ष कर्म पहाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रम नेफिन महासचिव विमला सेनेले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू