लन्डन पशुपतिनाथ मन्दिरमा रक्षाबन्धनको रौनक (तस्विरहरु)
लन्डन- श्रावण शुक्लपूर्णिमा अर्थात् रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मंगलबार बेलायतवासी नेपालीले पनि मनाएका छन्।
लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजासहित हर्षोल्लासका साथ जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइएको छ।
मन्दिर परिसरमा प्रत्येक वर्ष जस्तै साउन शुक्ल पूर्णिमाका दिन सयौं आस्थावान सहभागीहरुले रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) नव यज्ञोपवित एवं रक्षाबन्धन धारण गरेका छन्।
मन्दिरमा जनै तथा रक्षाबन्धन पुजनको लागि पण्डित निलहरि घिमिरे, विनोद पन्थी, आनन्द लोहनीसहित नेपालबाट बेलायत भ्रमणमा आएका गुरुहरु समेतको सहभागितामा रुद्राभिषेक, सप्तऋषि पुजन सहित बिशेष पूजाआजा सम्पन्न गरिएको थियो।
पशुपतिनाथ मन्दिरले भर्खरै खरिद गरेको मन्दिरसंगै रहेको घरमा वास्तु पूजा तथा रक्षाबन्धन पुजनसहित आजै औपचारिक गृह प्रवेश गरिएको थियो। उक्त भवन बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले उद्घाटन गरेका थिए।
सो अवसरमा विशेष धार्मिक अनुष्ठानको रुपमा ११ आवृति रुद्री, ऋषी– पितृ तर्पणीसहित यज्ञोपवित पुजन गरिएको जानकारी पण्डित निलहरि घिमिरेले दिएका छन्।
रक्षा बन्धन ग्रहणका लागि बिहान ७ बजे देखि नै मन्दिरमा सयौं व्यक्तिहरुको घुईचो लागेको थियो। बालबच्चा, परिवारसहित मन्दिर आएका दर्शनार्थीहरु नेपालकै झल्को मेटाउने गरी आयोजित अनुष्ठानमा रमाइरहेका थिए ।
मन्दिरका अध्यक्ष दाशु पाण्डेले झन्डै १ हजारले मन्दिरमा रक्षाबन्धन ग्रहण गरेको जानकारी दिए । भक्तालुहरुलाई चियापान तथा प्रसाद लगायत व्यवस्थापनका लागि कार्यसमिति तथा ट्रस्टीका सदस्यहरु खटेर लागेका थिए।
मन्दिरमा दैनिक पूजा आरती सञ्चालनका अलावा नेपाली धार्मिक सांस्कृतिक पर्वहरुमा विशेष पूजाआजा हुँदै आएको छ।
राजदूतद्वारा रक्षाबन्धन ग्रहण
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पनि सपत्नी पशुपतिनाथ मन्दिर लन्डनमा रक्षाबन्धन ग्रहण गरेका छन्। राजदूतसंगै दूतावासका द्वितिय सचिव रामबाबु नेपाललगायत कर्मचारीहरु पनि समारोहमा सहभागी भएका थिए।
रक्षाबन्धनको उपलक्षमा शुभकामना मन्तव्य दिंदै राजदूत आचार्यले विदेशमा नेपाली संस्कृति र परम्परा कायम राख्दै धार्मिक, सांस्कृतिक र सामाजिक केन्द्रको रुपमा मन्दिर विकास गर्नु महत्वपूर्ण रहेको बताए। उनले नेपाली संस्कृति र पहिचानको प्रवर्द्धन् गर्न दूतावासको तर्फबाट सदैव सहयोग रहने बताए।
राजदूत लगायतका अतिथिहरुलाई मन्दिर परिसरमा संस्थापक अध्यक्ष होम शर्मा, ट्रस्टीहरु, समितिका अध्यक्ष दाशु पाण्डे तथा पदाधिकारीहरुले स्वागत सम्मान गरेका थिए।
उता, अल्डरसटस्थित शिव कल्चरल सेन्टरमा पनि स्थानीय नेपालीहरुले रक्षाबन्धन गरेका छन्। पण्डित राम पाण्डेद्वारा जनै र डोरोको पूजा गर्दै ऋषि तर्पणी गरेपछि रक्षाबन्धन शुरु भएको थियो।
सेन्टर अध्यक्ष बाचस्पति रेग्मीका अनुसार बिहान ७ देखि मध्यान्ह १२ बजेसम्म उल्लेख्य संख्याका भक्तजनहरुले रक्षाबन्धन गरेका थिए। बेलुका ५ बजेदेखि ८ बजेसम्म पुन: रक्षाबन्धन कार्यक्रम छ।
त्यस अवसरमा शिव कल्चरल सेन्टर अध्यक्ष बाचस्पति रेग्मी, उपाध्यक्ष विक्रम भट्टराई, काउन्सिलर जीव बेल्वासे, अन्तरराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीलगायत व्यवस्थापनमा खटिएका थिए।
हेरौं तस्विरहरु:
पशुपतिनाथ मन्दिर प्लमस्टिड:
शिव कल्चरल सेन्टर अल्डरसट:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५