बुधबार, माघ २, २०८१
10:37 | १६:२२

पशुपतिनाथ मन्दिर लन्डनले खरिद गर्‍यो नयाँ भवन

नेपाली लिङ्क अगस्ट ५, २०२२

लन्डन। लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरले अर्को एक भवन खरिद गरेको छ।

मन्दिरको आडैमा रहेको एक ‘रेसिडेन्सियल बङ्लो’ तीन लाख ७० हजार पाउन्डमा खरिद गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेले नेपाली लिंकलाई जनकारी दिए।

खरिद प्रक्रिया टुंगिएसंगै विहीबार मन्दिर समितिका पदाधिकारीहरुले भवनको चाबी बुझेका थिए।

आगामी साता जनैपूर्णिमाको पावन अवसर पारेर शुभ साइतमा भवन प्रवेशको कार्यक्रम राखिएको छ।  

मन्दिरले खरिद गरेको नयाँ भवनलाई दिर्घकालमा आवश्यकताअनुरुप मन्दिर बिस्तारका लागि उपयोग गर्ने योजना रहेको अध्यक्ष पाण्डेले बताए। तर तत्काल भाडामा लगाएर नियमित आम्दानी सिर्जना गरिने उनले जनाए।

मन्दिर खरिदका लागि अहिले विभिन्न दाताहरुबाट ऋण सहयोग लिइएको छ। विभिन्न कार्यक्रममार्फत् स्रोत जुटाएर क्रमिक रुपमा ऋण फिर्ता गर्दै जाने योजना बनाइएको छ।  

‘मेरो कार्यकालमा यो भवन खरिदको कामलाई पहिलो प्राथमिकतामा राखेको थिएं। यस कार्यमा हामीलाई सहयोग गर्नुहुने सबै ट्रस्टी एवम् दाताहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु’, अध्यक्ष पाण्डेले भने, ‘मन्दिरलाई भविष्यमा आवश्यकता हुँदा प्रयोग गर्न सकिने सुविधा मिलेको छ, अहिलेलाई आम्दानीको स्रोत पनि बनेको छ ।’

मन्दिरमा जमघट, भजनकिर्तनसहितका विभिन्न गतिविधि हुँदा आडैको छिमेकीबाट गुनासो आउने समस्याबाट पनि मुक्ति मिल्ने आशा मन्दिर समितिको छ।

मन्दिरका मूल पन्डित निलहरि घिमिरेले पनि नयाँ भवन थपिएपछि थप सहज हुने भन्दै खुशी व्यक्त गरेका छन्।  

यसअघि अहिले मन्दिर रहेको भवन भने पूरै ऋण चुक्ता गरेर ‘फ्रि होल्ड’ गराइसकिएको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू