बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ लामा लण्डनमा
लण्डन – काठमाण्डौं बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ लामा गुरु खेन रिन्पोछे घ्युर्मी छुल्टीम लण्डन आइपुगेका छन् ।
गत ३० जुलाई शनिबार हिथ्रो एयरपोर्टमा आउँदा उनलाई बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेका अध्यक्ष धर्म तामाङलगायतले स्वागत गरे ।
उनको स्वागतार्थ अध्यक्ष तामाङ, बिसीसी यूकेका धर्म गुरु खेन्पो केलजङ्ग, लोपेन नोर्बु, आमा अध्यक्ष उर्मिला गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङलगायत कार्यसमिति, आमा समूह, ट्रष्टीजहरु एयरपोर्ट पुगेका थिए ।
उनी बिसीसी यूकेले १ अगष्ट सोमबार बिसीसी यूकेको अल्डरसटस्थित गुम्बामा छ्योखर दुचेन अर्थात् ठुक्पा छेश्पी तीथिको अवसरमा आयोजना गर्न लागेको विशेष पूजामा प्रमुखका रुपमा बेलायत आएका हुन् ।
उक्त दिन उनले बौद्ध दर्शनबारे प्रवचन दिने, पूजापाठ गर्ने, वाङ्ग दिनेलगायत कार्यक्रम रहेको बिसीसी यूकेका अध्यक्ष धर्म तामाङले जानकारी दिए ।
उक्त कार्यक्रममा बेलायतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, बिसीसी यूके परिवार, बिसीसी लण्डन शाखा परिवार लगायत बौद्ध धर्मवालम्वीहरुको उपस्थिति रहने बिसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा शेर्पाले जानकारी दिए ।
उनले उक्त पूजामा सहभागी हुन सबै भक्तजनहरुमा अनुरोध गरेका छन् ।
करिब ३ हप्ता बेलायतमा रहने खेन् रिन्पोछेले बिसीसी यूकेले आयोजना गर्ने विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुने बिसीसी यूकेका मिडिया सेक्रेटरी सविन्द्र कुमार गुरुङले जानकारी दिए । –पूर्ण गुरुङ