अन्तत: एनआरएनए यूकेले बुझायो आइसीसीलाई ३९ हजार पाउन्ड
लन्डन। लामो समयको विवादपछि अन्तत: गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सदस्यता शुल्कबापत आइसीसीलाई बुझाउनुपर्ने रकम पठाएको छ।
एनआरएन यूकेका कोषाध्यक्ष विष्णु खरेलले विहीबार आइसीसीको खातामा ४६ हजार ८ सय १५ डलर (३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स) जम्मा गराइएको नेपाली लिंकलाई जानकारी दिए।
यसअघि आइसीसीले बेलायतका कुल ११ हजार तीन सय ६३ सदस्यहरुका लागि ५ डलरका दरले जम्मा ५६ हजार ८ सय १५ डलर बुझाउन भन्दै एनआरएनए यूकेलाई ‘इन्भोइस’ पठाएको थियो जसमध्ये आइसीसीबाट एनसीसी यूकेले लिनुपर्ने १० हजार डलर कटाएर बाँकी रकम पठाइएको जनाइएको छ।
‘यसअघि बेलायतमा हेल्थ क्याम्प सञ्चालन गर्दाको ५ हजार डलर हामीले आइसीसीबाट लिनुपर्ने थियो। त्यस्तै, एनसीसी यूकेमा जम्मा हुनुपर्ने अर्को ५ हजार डलर प्राविधिक गल्तीले आइसीसीको खातामा जम्मा भएको थियो’, कोषाध्यक्ष खरेलले भने, ‘आइसीसीबाट एनसीसी यूकेले पाउनुपर्ने यही १० हजार डलर कटाएर रकम पठाइएको छ।’
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर अहिले आइसीसीलाई शुल्क पठाउन नहुने अडानमा रहेको भएपनि गत आइतबार सम्पन्न कार्यसमिति बैठकमा बहुमतले निर्णय गराएर रकम पठाइएको छ। आइसीसी विवादित बनेको अवस्थामा एनआरएनए यूकेका आमसदस्यहरुबाट ‘म्यान्डेट’ लिएर मात्रै शुल्क पठाउनेबारे निर्णय लिनुपर्ने उनको अडान रहंदै आएको छ।
यसअघि अध्यक्ष गाहामगरकै क्याम्पमा रहेका उपाध्यक्षहरु नारायण कंडेल र गोविन्द खरेलका साथै अर्का उपाध्यक्ष सुनिलबाबु खड्का र कोषाध्यक्ष विष्णु खरेल समेत रकम पठाउनुपर्ने लाइनमा एक ठाउँ उभिएपछि अन्तत: रकम बुझाउने परिस्थिति बनेको हो। जसका लागि एनआरएनए आइसीसीका तर्फबाट सहजिकरण गर्न जिम्मेवारी पाएका युरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटाले पनि विशेष पहल गरेका थिए।
‘केन्द्रबाट सहजिकरणका लागि अनुरोध भएपछि हामी त्यसमा निरन्तर लाग्यौं । अन्तत ‘ब्रेक थ्रू’ भएकोमा खुशी लागेको छ’, सापकोटाले भने, ‘यसमा हामीलाई सघाउने ललितजी लगायत सबैप्रति आभारी छु ।’
यसअघि आइसीसीबाट सदस्यता शुल्क बुझाउन कयौंपटक ताकेता गर्दा पनि एनसीसी यूकेले नटेरेपछि बर्खास्त गर्नेसम्मको कारवाहीको चेतावनी दिइएको थियो।
आइतबारको बैठकपछि अध्यक्ष गाहामगरले आफ्नो सहमतिबिना रकम पठाइए आफू आम सदस्यहरु र बेलायतको अदालतसम्म जान पछि नपर्ने बताएका थिए।