शनिबार, मंसिर १५, २०८१
23:55 | ०५:४०

पूर्वराजपरिवारका गाडी प्रदर्शनमा राखियो

रासस जुलाइ २७, २०२२

पूर्वराजा महेन्द्रले प्रयोग गरेको सवारी । तस्बिर- रासस

काठमाडौं । पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार संग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी आज खुला गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग गरेका सबै सामग्री क्रमशः प्रदर्शनीमा राख्दै जाने नीति रहेको जानकारी दिए ।

समितिको अध्यक्षसमेत रहेका सचिव न्यौपानेले संग्रहालयलाई थप व्यवस्थित बनाउन प्रदर्शनयोग्य सामग्रीलाई क्रमशः सर्वसाधारणले हेर्न सक्नेगरी राखिने प्रतिबद्धता जनाए ।

संग्रहालयले पूर्वराजा त्रिभुवनले प्रयोग गरेको बा अ २ र नम्बर नखुलेको अर्को फोर्ड कम्पनीको गाडी पनि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । दुवै गाडी फोर्ड कम्पनीका भएको समितिले जनाएको छ ।

बा अ २ नम्बरको गाडी त्रिभुवन र उनको परिवारले प्रयोगमा ल्याएको समितिका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले जानकारी दिए ।

अर्को पिकअप गाडी भने पूर्वराजा त्रिभुवनले सिकार खेल्न जाँदा प्रयोग गर्ने जानकारी पनि समितिले दिएको छ ।

यसैगरी पूर्वराजा महेन्द्रले प्रयोग गरेको बा१च २६६३ नंको गाडी पनि सार्वजनिक गरिएको छ । अस्टिन प्रिन्सेस कम्पनीको मोडेल १९६३ यो गाडी पनि अबदेखि सर्वसाधारणले हेर्न पाउने भएका छन् । यही मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारी प्राप्त भएको पनि गुरुङले बताए ।

तीनैवटा गाडीमा भौतिक तथा यान्त्रिक अवस्था जीर्ण रहेकामा भौतिक मर्मत एवं रङरोगन गरिएको छ । यान्त्रिक अवस्था भने अझै जीर्ण रहेको सूचना अधिकारी गुरुङले बताए ।

पूर्वराजा त्रिभुवन र उनको परिवारले प्रयोग गर्ने सवारी । तस्बिर- रासस

विसं २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएसँगै नारायणहिटी राजदरबारलाई संग्रहालयका रुपमा स्थापित गरिएको हो ।

दरबारको मुख्य भवनमा रहेका ४७ कक्षमध्ये ३० कक्ष सर्वसाधारणले हेर्नसक्ने गरी खुला गरिएको छ । बाँकी १७ कक्ष पनि अध्ययन अनुसन्धान गरी खुला गर्ने तयारीमा समिति लागेको छ । ७५४ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी दरबार क्षेत्रमध्ये संग्रहालयले करिब ५११ रोपनी भाग ओगटेको छ ।

दरबार क्षेत्रको करिब २४३ रोपनी क्षेत्रफलमा भने अहिले पनि नेपाली सेना बसिरहेको छ । नेपाली सेनाले ओगटेका क्षेत्रमा पनि केही ऐतिहासिकस्थल रहेकाले संग्रहालयले प्रदर्शनमा राख्न खुला गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू