बुधबार, माघ २, २०८१
14:02 | १९:४७

‘गोर्खा: बिनिथ द ब्रेभरी’ र ‘ह्याम्पशायर एकाउन्टेन्टस्’ बीच सहकार्य

नेपाली लिङ्क जुलाइ २६, २०२२

लन्डन । बेलायतमा नेपालीद्वारा सञ्चालित ‘ह्याम्पसायर एकाउन्टेन्टस्’ ले भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म 
‘गोर्खाः बिनिथ द ब्रेभरी’ लाई आर्थिक सहयोग गरेको छ । उक्त फर्मले बेलायतमा हुने फिल्म प्रदर्शनीका लागि प्रायोजन गरेको हो ।

फिल्मबाट प्राप्त मुनाफा च्यारिटीस्वरूप गोर्खा वेलफेयर सोसाइटीलाई प्रदान गर्ने उद्देश्यले निर्मित उक्त चलचित्रसंग सहकार्य गरेर समाजसेवालाई टेवा दिन चाहेको ‘ह्याम्पशायर एकाउन्टेन्टस्’ का निर्देशक भाइराजा थापाले जनाए ।

बेलायतको रेडिङ, स्वीन्डन, बेजिङस्टोक, ब्रेकन, टिडवर्थ, वेम्ब्ली, प्लमस्टिड, मोर्डन आदिमा चांडै प्रदर्शनी हुन गइरहेको उक्त फिल्मलाई सहयोग गर्नुका साथै निशुल्क एकाउन्ट सुविधासमेत उपलब्ध गराएको उनले बताए ।

गोर्खाहरुले देखाएको बहादुरीलाई फिल्मको माध्यमबाट अझ प्रभावकारी ढंगले प्रस्तुत गरिएको र यो नितान्त गोर्खाहरुप्रति समर्पित भएकाले आफ्नो कम्पनीको तर्फबाट उक्त फिल्मलाई सहयोग गर्न चाहेको थापाले बताए ।

विगत लामो समयदेखि एकाउन्ट व्यवसायमा आवद्ध थापाले आफ्नो कम्पनीमार्फत नेपालीलगायत अन्य थुप्रै मुलुकका नागरिकलाई सेवा गर्दै आएका छन् । उनले नेपालीद्वारा आयोजना गरिने थुप्रै सामाजिक गतिविधिमा समेत सहयोग पुरयाउंदै आएका छन् ।

२५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गर्दा युद्धमा दोस्रो बटालियन, थर्ड क्वीन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए र २६ सेप्टेम्बरदेखि नै थापा पीडितहरुको उद्धारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त भएको थियो ।

उनै कुलवीर थापाको कथामा यो फिल्म बनेको हो । ‘फिल्ममा गोर्खालीहरू जति बहादुर छन् त्यति नै दयालु हृदयका पनि बहादुर छन् भन्ने देखाइएको छ । विश्व युद्धमा घाइतेहरुलाई गोर्खा सैनिकले नै उद्धार गरेका थिए भन्ने विषयलाई नै फिल्मले समेट्न खोजेको छ ।

यस फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू