बेलायतमा ‘मिड्समर मुक्तक मेला २०२२’ सम्पन्न
लन्डन । नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाको आयोजनामा गृष्मकालीन मुक्तक मेला २०२२ सम्पन्न भएको छ ।
नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्य तथा नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाका अध्यक्ष आरएनको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेपाल, कोरिया र बेलायतका गरी करिब दुई दर्जन मुक्तककारहरुको सक्रिय सहभागीता थियो ।
उक्त कार्यक्रम संयोजन प्रतिष्ठानकी उपाध्यक्ष तथा कार्यक्रम संचालक प्रतिमा केसीले गरेकी थिइन् ।
केसीको संचालन तथा स्वागतबाट शुरु भएको उक्त कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष कोनेले आफ्ना ओजपूर्ण मुक्तक वाचन गर्दै बेलायत शाखाले गरेको हरेक गतिविधिको प्रशंसा गरे । उनले बेलायत शाखाले प्रकाशन गर्न थालेको वरिष्ठ साहित्यकार सरुभक्तको मुक्तक संग्रह र प्रणय दिवसमा प्रस्तुत गरिएको मुक्तकहरु प्रकाशनको चर्चा पनि गरेका थिए ।
कोरिया शाखाका अध्यक्ष आरएनले पनि कार्यक्रमको सफलताको कामना गर्दै आफ्नो जोसिला मुक्तक वाचन गरेका थिए । सहभागीले ४÷४ वटा आफ्ना मुक्तक वाचन गरे ।
कार्यक्रममा मुक्तक प्रतिष्ठान बेलायतका अध्यक्ष दुर्गा प्रसाद पोख्रेल, उपाध्यक्ष प्रतिमा केसी, कोषाध्यक्ष राज श्रेष्ठ, वरिष्ठ सल्लाहकार डा. रुपक श्रेष्ठ, सदस्यहरु कुमार केसी, नानु राना थापा, गंगा भण्डारी, रविन्द्र जोशी, भरत लोहोरुङ राई, जीत बुढाथोकी छन्त्याल, मोहन आचार्य ‘जलद’, अहिल्या कुँवर, बम गुरुङ र नेपालको तनहुँबाट आकाश अधिकारीको सहभागिता रहेको प्रतिष्ठानका अध्यक्ष पोख्रेलले बताए ।
मुक्तक प्रतिष्ठानले निकट भविष्यमा मोती जयन्तीको उपलक्षमा मुक्तक तथा गजल वाचन कार्यक्रम गर्ने तयारी समेत गरेको वरिष्ठ सल्लाहकार रुपक श्रेष्ठले बताए ।
अध्यक्ष दुर्गा प्रसाद पोख्रेलले अन्तमा आफ्ना मुक्तक वाचन गर्दै सहभागी सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष पोख्रेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्राविधिक संयोजन प्रतिष्ठानका सदस्य कुमार केसीले गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरु हालै सम्पन्न अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेलायत शाखामा निर्वाचित भएकोमा अध्यक्ष राज श्रेष्ठ, सह कोषाध्यक्ष प्रतिमा केसी, कार्य समिति सदस्य कुमार केसी र सदस्य रबिन्द्र जोशीलाई अध्यक्ष पोख्रेल तथा वरिष्ठ सल्लाहकार श्रेष्ठले वधाई दिएका थिए ।