बुधबार, माघ २, २०८१
06:23 | १२:०८

विश्वको एकमात्र दीर्घजीवी पाण्डाको मृत्यु

रासस-सिह्वा जुलाइ २१, २०२२

हङकङ-मानव रेखदेख र स्याहार सुसारमा रहेको विश्वकै एकमात्रा जीवित भाले पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु भएको छ । ‘एनएन’ नामको यो पाण्डा मानव आयुका हिसाबले एकसय पाँच वर्ष बाँच्यो ।

विगत केही सातायाता एनएनको स्वास्थ्य बिग्रदै जाँदा उसले हिँडडुल गर्न मात्र छाडेन, चारोसमेत खाएन । यहाँको ओसन पार्कले एनएनको स्मृतिमा उसकै खोरमा शोक पुस्तिका राख्ने भएको छ ।

एनएनलाई उसको चलाखी र चञ्चलताका निम्ति क्लबले सधैँ सम्झिइरहने बताएको छ । संसारमा सबैभन्दा लामो समय जीवित रहेको जियाजिया नामको पोथी पाण्डासँगै ११ मार्च १९९९ मा पार्कमा ल्याइएको एनएन चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानबाट ल्याइएको थियो ।

सन् २०१६ मा ३८ वर्षको उमेरमा जियाजियाको मृत्यु भएपछि एनएनले एकाकी महसुस गरेको थियो । बेलायतले हङहङलाई मुख्यभूमि चीनसमक्ष हस्तान्तरण गरेको अवसर पारेर पाण्डा संरक्षण तथा अनुसन्धान केन्द्रबाट केन्द्र सरकारले हङकङ विशेष प्रशासन क्षेत्रलाई विशाल पाण्डा अध्ययन–अनुसन्धानका निम्ति प्रदान गरेको थियो ।

प्राकृतिक वासस्थानमा पाण्डाको औसत आयु २० वर्षको हुने गरेको छ भने मानव स्याहार पाउँदा थप १० वर्ष बाँच्नसक्ने अध्ययनले देखाएको छ ।

पर्यावरणीय सन्तुलन एवम् जैविक विविधता कायम गर्न पाण्डा उपयोगी जनावर हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू