बुधबार, माघ २, २०८१
16:16 | २२:०१

श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेका अध्यक्षले गरे पदभार ग्रहण

नेपाली लिङ्क जुलाइ १९, २०२२

लन्डन । श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको वार्षिक भेला गत १६ जुलाई शनिबार अल्डरसोट टोङ्गहाम रोडस्थित एल्डरउढ लेजर सेन्टर, एल्डरउड स्कुल हलमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न वार्षिक भेला समाजका श्रद्धेय वयोवृद्ध जेष्ठ सदस्य श्रीमति राज कुमारी गुरुङ र अध्यक्ष गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि शुभारम्भ गरेका थिए।

सचिव राजबहादुर गुरुङले सञ्चालन गरेको कार्यक्रममा स्वस्थ्य र सुरक्षा सम्बन्धी जानकारी उपाध्यक्ष जङ्ग बहादुर गुरुङले दिएका थिए । कार्यक्रमको प्रारम्भमा विगत एक वर्ष भरि नेपाल र बेलायतमा दिवगंत भएका सदस्यहरुको चिरशान्तिको कामना गर्दै दुई मिनेट मौनधारण गरिएको थियो ।

समाजका सदस्यहरु र बेलायतमा रहेका कुस्मा नगरपालिका १४ आर्थर डाँडाखर्कका चेलिबेटी र तिनका परिवारको उल्लेख्य उपस्थिति रहेको वार्षिक भेलामा समाजका अध्यक्षले स्वागत मन्तव्य, ज्वाईं चेलिबेटीहरुको प्रतिनिधित्व गर्दै दुर्लुङ समाज यूकेका पूर्व अध्यक्ष रक्षबहादुर गुरुङले शुभकामना मन्तव्य र अध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङले धन्यवाद मन्तब्य राखेका थिए ।

धन्यवाद मन्तब्यका क्रममा समाजको महत्व र यसका उद्देश्यहरुबारे चर्चा गर्दै अध्यक्ष गुरुङले कोभिड महामारीको असहज परिस्थितिमा पनि आफ्नो नेतृत्वको तीन 
वर्षे कार्यकालमा अनुकुल वातावरण मिलाई हरेक क्षेत्रमा विभिन्न सहयोग गरेका पदाधिकारी, सल्लाहकार, सदस्य तथा चेलिबेटीहरुलाई आभार प्रकाट गर्दै विशेष धन्यवाद दिए ।

यसैगरि यस वर्षको भेला आयोजनामा विशेष सहयोग, योगदान र आर्थिक सहयोग गर्ने सबै र भेलामा उपस्थित सबै सदस्यहरु, ज्वाईं चेलिबेटी तथा परिवारलाई पनि धन्यवाद ब्यक्त गरे ।

मन्तव्यकै क्रममा अध्यक्ष गुरुङले श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज पोखराका संस्थापक अध्यक्ष क्याप्टेन लाल प्रसाद गुरुङ र अध्यक्ष सव–इन्स्पेक्टर कमल गुरुङले पठाएको शुभकामना सन्देश पनि सुनाएका थिए।

कार्यक्रममा ८४ पूजा सम्पन्न गरेका वयोवृद्ध जेष्ठ सदस्यहरु, यसै वर्ष ६६ वर्ष उमेर पुगी जेष्ठ सदस्य बनेका महानुभाव, समाजका नयाँ सदस्यहरु, नव विवाहित दम्पतिहरु, विभिन्न संगठन र सेवामा पदोन्नति तथा नयाँ नेतृत्वको पदभार ग्रहण गरेका सदस्यहरु तथा ज्वाईंचेलीहरु, सन्तान लाभ गरेका दम्पतिहरु, शैक्षिक सत्र २०२१-२२ मा विभिन्न विद्यामा उच्च शिक्षा हासिल गरेका विद्यार्थी र नेपालबाट बेलायतको पारिवारिक भ्रमणमा आएका अतिथिहरुलाई समाजका अध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङले बधाई तथा शुभकामना दिदै पुष्पगुच्छा सहित खादा ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेकी चेली ९० वर्षीया वयोवृद्ध सुन कुमारी गुरुङलाई सुस्वास्थ्य र दीर्घायूको कामनासहित विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा अध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङको नेतृत्वमा रहेको पाँचौं कार्यसमितिले तीन वर्षे सफल कार्यकाल पुरा गरेर सर्वसम्मत नव निर्वाचित छैटौं कार्यसमितिका अध्यक्षलाई पदभार हस्तान्तरण गरे ।

नव निर्वाचित छैटौं कार्यसमितिका पदाधिकारी अध्यक्ष जङ्ग बहादुर गुरुङ, उपाध्यक्ष गोपाल गुरुङ, सचिव प्रसन्न गुरुङ, कोषाध्यक्ष अमित गुरुङ, खाद्य संयोजक बुद्धि गुरुङ, सांस्कृतिक सचिव श्रीमती पुजा गुरुङ र वाइन मेम्बर गौतम गुरुङलाई पाँचौ कार्य समितिका अध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङले खादा लगाएर बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना दिएका थिए ।

अध्यक्षको पदभार ग्रहण पश्चात मन्तब्य राख्ने क्रममा नव निर्वाचित छैटौं कार्य समितिका अध्यक्ष जंग बहादुर गुरुङले समाजको नेतृत्व गर्ने अवसर प्रदान गरेकामा सबैलाई धन्यवाद दिंदै विगतका कार्यक्रमहरुको निरन्तरता सहित उत्साहका साथ नयाँ कार्यक्रम लिएर समाजलाई थप उचाईमा पुराउन र गाउँको विकासमा सहयोग पुराउन सदा कटिवद्ध र प्रयासरत रहने बताए ।

नव निर्वाचित अध्यक्ष गुरुङले समाजका हरेक योजना र कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सबैको सामूहिक सहयोग अपरिहार्य रहेको बताउदै सहयोगका निम्ति सबैलाई अपिल गरेका थिए।

कार्यक्रममा अध्यक्ष गुरुङले क्याप्टेन पदम बहादुर गुरुङको नेतृत्व रहेको पाँचौं कार्यसमितिको तीन वर्षे कार्य अवधि कोभिडको विषम परिस्थितिमा रहेरपनि अत्यन्तै सफलतापूर्वक पुरा भएको बताउंदै सवल नेतृत्व प्रदान गरि समाजलाई गरेको योगदान र समाजसेवाका निम्ति अध्यक्ष लगायत पाँचौं कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना सहित खादा लगाएर विदाई गरे ।

वार्षिक भेलामा खाद्य संयोजक काजी गुरुङको संयोजनमा गोर्खा किचेन केटरिङ सर्भिसले विभिन्न परिकारका स्वदिष्ट खाना व्यवस्थापन गरेको थियो।

त्यसैगरि संस्थापक अध्यक्ष क्याप्टेन कृष्ण प्रसाद गुरुङ र पूर्व अध्यक्ष मेजर समुन्द्र गुरुङले सम्पूर्ण पेयपदार्थ प्रायोजन गरेका थिए। अन्य केहि सदस्य तथा चेलिबेटीका परिवारले पनि वार्षिक भेलाका निम्ति आर्थिक सहयोग गरेका थिए।

कार्यक्रममा मनोरञ्जनका निम्ति सांस्कृतिक सचिव सम्झना गुरुङको संयोजनमा समाजका चेलिबेटी परिवारकै कलाकारहरु जितमाया गुरुङ, रक्षेबहादुर गुरुङ र मोनिका गुरुङले मनमोहक नृत्य प्रस्तुत गरे ।

सांस्कृतिक सचिव गुरुङ र नव निर्वाचित उपाध्यक्ष गोपाल गुरुङको संयोजनमा १० वटा नगद पुरस्कार रहेको ‘राफल ड्र’ पनि सञ्चालन गरिएको थियो। राफल ड्र कार्यक्रमसंगै निल गुरुङको डिजेमा सबैले नाचेर अन्तसम्म भरपुर मनोरञ्जन लिए ।

बिहान ११:३० बजे आरम्भ भएको वार्षिक भेला सोही स्थानमा अर्को वर्ष १५ जुलाई २०२३ मा गर्ने घोषणासहित सम्पूर्ण कार्यक्रम बेलुका ९ बजे समापन भएको थियो ।

-शिवशरण गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू