माल्दिभ्स भागेका श्रीलंकाका पूर्व राष्ट्रपति सिंगापुर जाने
कोलम्बो, २९ असार – श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष माल्दिभ्सबाट सिंगापुर प्रस्थान गर्ने भएका छन् ।
बुधबार सबेरै श्रीलंकाको राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले गएका राजापाक्ष मालेमा एक दिन पनि पुरा नबसी बुधबार राती सिंगापुर प्रस्थान गर्ने भएका हुन् ।
आफ्नै देश भित्र असुरक्षा भएको भन्दै देश छाडेर भाग्न चाहेका राजापाक्षलाई भाग्न श्रीलंकाको सेनाले नै सहयोग गरेको छ । सेनाकै सहयोगमा सेनाको जहाजमा उनी बिहान सबेरै कोलम्बोबाट माले पुगेका थिए ।
यसअघि उनकै अर्का भाइ तथा पूर्व अर्थमन्त्रीलाई भने भाग्न खोज्दा सेनाले अवरोध गरेर फर्काएको बताइएको छ ।
तत्कालीन राष्ट्रपति राजापाक्षलाई भने रक्षा मन्त्रालयको आदेश र स्वीकृतिमा माल्दिभ्स लगिदिएको श्रीलंकाको सेनाले जनाएको छ ।
सेनाले आफू खुशी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ ।
राजापाक्षसँगै उनकी श्रीमति र दुई अंगरक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् ।
उनीहरु चारै जनालाई श्रीलंकाको कातुनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट माल्दिभ्सको भेलाना अन्तरराष्ट्रिय विमानस्थल माले लगिएको थियो ।
राजापाक्षले देश छाडेको खवरले थप आक्रोशित भएका प्रदर्शनकारीका हिंसा भड्किन नपाओस् भन्ने उद्देश्यले श्रीलंकामा अहिले आपतकालीन अवस्था घोषणा गरिएको छ ।
प्रधानमन्त्री रानिल विक्रमसिङ्घेले बुधबार आपतकालीन अवस्थाको घोषणा गरेका छन् ।
सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कफ्र्यु पनि लगाइएको छ ।
प्रधानमन्त्री विक्रेमेसिङ्घेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरूले अश्रु ग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको समाचारमा जनाइएको छ ।
विक्रमासिङ्घेले दंगा मच्चाउनेलाई गिरफ्तार गर्ने ठाडो आदेश पनि दिएको श्रीलंकाको डेली मिरर पत्रिकाले जनाएको छ ।
तर श्रीलंकाको विपक्षी दलका नेता सजिथ प्रेमादासले भने प्रधानमन्त्री विक्रमासिङ्घेले राष्ट्रपतिको अधिकार प्रयोग गर्न नपाउने दावी गरेका छन् । प्रधानमन्त्रीले आपतकाल घोषणा गर्न नमिल्ने पनि उनको भनाई छ ।
प्रधानमन्त्रीलाई राष्ट्रपतिले कार्यवाहक राष्ट्रपति नियुक्त गरेमा मात्रै दीर्घकालीन असर नपर्ने गरी कामचलाउ काम मात्र गर्न पाउने उनको तर्क छ ।
प्रधानमन्त्रीले पनि राष्ट्रपतिको अधिकार र जिम्मेबारी पाए झै काम गर्नु संविधानको दुरुपयोग भएको उनले दावी गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५