बुधबार, माघ २, २०८१
10:26 | १६:११

श्रीलंकाली राष्ट्रपतिले गरे राजीनामापत्रमा हस्ताक्षर, बहिर्गमन भोलि

रासस-एएनआई जुलाइ १२, २०२२

राष्ट्रपति गोटाबाया राजापाक्ष । फाइल तस्बिर एएफपी

कोलम्बो, २८ असार–राष्ट्रपति गोटाबाया राजापाक्षले सोमबार भोलिदेखि लागू हुने गरी पदबाट राजीनमा दिएका छन् । उनले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि हुनेछ ।

राष्ट्रपति गोटाबायाले राजीनामापत्रमा हस्ताक्षर गरेर वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेका तथा ती अधिकारीले सभामुख सभामुख महिन्दा यापा आबेवर्देनालाई बुझाउने डेली मिररले जनाएको छ । संसद्बाट भोलि उनले गोटाबाया राजापाक्ष देशको राष्ट्रपति नरहेको सार्वजनिक घोषणा गर्नेछन् ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भोलि नै अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनेछन् । संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म उनले नै शासन सञ्चालन गर्नेछन् । सभामुखले आगामी साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई दिएका छन् । राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घे र विपक्षी दलका नेता सजिथ प्रेमदासा उम्मेदवार बन्ने पुष्टि भइसकेको छ । प्रेमदासाले देशको अर्थतन्त्र पुनर्निर्माण गर्न आफू तयार रहेको जानकारी हिजो दिएका थिए ।
यसअघि प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म त्यहाँबाट बाहिर ननिस्कने स्पष्ट पारेका छन् । शनिबार राष्ट्रपति गोटाबाया देश छाडेर भागेको बताइएको थियो ।

चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह एवम् महामारीका कारण केही महिनायता श्रीलंकाले अकल्पनीय आर्थिक संकट सामना गरिरहेको छ । आर्थिकरूपमा टाट पल्टिएको श्रीलंकामा इन्धनका साथै दैनिक उपभोग्य वस्तुको चरम अभाव छ । बाह्य ऋणको भारीले थिलथिलो भएको टापुराष्ट्रमा नयाँ राजनीतिक नेतृत्वले देशलाई आर्थिक संकटबाट मुक्त गर्न कठोर परिश्रम गर्नुपर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू