बुधबार, माघ २, २०८१
10:07 | १५:५२

पूर्वप्रधानमन्त्री आबेको अन्त्येष्टि मंगलबार

रासस/एएनआई जुलाइ १०, २०२२

फाइल तस्बिर एएफपी

टोकियो, जापान, २५ असार–जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर शनिबार उनको गृहनगर टोकियो ल्याइएको छ । जापानको पश्चिमी शहर नारामा भएको निर्वाचन अभियानलाई सम्बोधनका क्रममा उनीमाथि गोली हानी हत्या गरिएको थियो । गोली लागि घाइते भएका आबेलाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पुरयाइएको थियो । स्थानीय समय अनुसार शुक्रबार साँझ ५:०३ बजे उनको मृत्यु भएको घोषणा गरिएको थियो ।

जापानी पूर्व प्रधानमन्त्रीको पार्थिव शरीर लिएर शिन्जोकी पत्नी अकी आबे पार्थिव शरीरसँगै टोकियो आएकी अमेरिकी टेलिभिजन सिएनएनले आबेको कार्यालयलाई उद्धृत गर्दै जानकारी गराएको छ । एनएचके वल्र्डका अनुसार, आबेको पार्थिव शरीर बोकेको गाडी स्थानीय समय अनुसार शनिबार १:३० बजे टोकियोको शिबुया जिल्लास्थित आवेको घरमा आइपुगेको हो ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले पूर्वप्रधानमन्त्रीको पार्थिव शरीर रहेको घरमा पुगी उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् । उनले पूर्व प्रधानमन्त्री आवेकी धर्मपत्नीलाई
भेटी समवेदना अर्पण गरे ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार राति दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै रात्री जागरण र प्रार्थना गरिनेछ भने अन्त्येष्टि मंगलबार गरिनेछ ।

यसैबीच प्रहरीले पश्चिमी जापानको नारा सिटी निवासी ४१ वर्षीय तेत्सुया यामागामीलाई आबेको हत्या प्रयास गरेको आरोपमा पक्राउ गरी सोधपुछ जारी राखेको छ ।

यसैबीच विश्व नेताहरुले आबे परिवार प्रति सहानुभूति प्रकट गरेका छन् । साथै, उनीहरूले हत्याको निन्दा र पूर्वप्रधानमन्त्री आवेसँगको सहकार्यको स्मरण गर्दै दिवंगत नेताप्रति श्रद्धसुमन अर्पण गरेका छन् ।

जापानी प्रधानमन्त्री फुमिओ किशिदाले शुक्रबार नै राष्ट्रका नाममा सम्बोधन गर्दै ‘यो अक्षम्य कार्य हो’ र जापानी अधिकारीहरूले ‘यस परिस्थितिलाई सम्हाल्न उचित कदम चाल्नेछन्’ भनेका थिए । किसिदाले आबेको गोली हानी हत्या गरिनुको कारण अझै थाहा नभएको पनि उक्त सम्बोधनमा बताएका थिए ।

साथै, उनले अनुसन्धान जारी रहेकाले यसबारे कुनै पनि राजनीतिक प्रभावका बारेमा अनुमान नगर्न सबैसँग अनुरोध गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू