बुधबार, माघ २, २०८१
10:31 | १६:१६

फिन्ल्यान्ड, स्विडेन र नर्वेमा नेपाली दूतावासको घुम्ती सेवा

सञ्जु काउछा जुलाइ ९, २०२२

हेल्सिन्की- नेपाली दूतावास डेनमार्कले फिन्ल्यान्ड, नर्वे र स्वीडेनमा बसोबासरत नेपालीहरुका लागि ७ दिने घुम्ती शिविर सन्चालन गरेको छ । जुलाई २ तारिख शनिबार देखि शुरु भएको शिविर स्वीडेनमा २ दिन र फिन्ल्यान्डमा ३ दिन सन्चालन भइसकेको छ भने नर्वेमा २ दिन हुनेछ ।

जुलाई ४ देखि ६ सम्म फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा सम्पन्न शिविरमा करिब २०० जनाले राहदानी आवेदन दिएको नेपाली दूतावास डेनमार्कले जानकारी दिएको छ ।

नेपाली दूतावासको कार्यक्षेत्रका मुलुकमा गइ त्यहाँ रहेका नेपालीलाई राहदानी लगायत सेवा प्रदान गर्ने योजना अनुरूप घुम्ती सेवा उपलब्ध गराइएको दूतावासका कार्यवाहक राजदूत तिर्थराज अर्यालले बताए ।

शिविरमा दूतावासले नयाँ आवेदन प्रत्यक्ष दर्ता, नवीकरण, पुरानो आवेदनमार्फत तयारी राहदानी बितरण, वारेस नामा, भिषा जारी तथा परामर्श सेवा प्रदान गरेको अर्यालले जानकारी दिए ।

‘विद्युतीय राहदानी (इ–पासपोर्ट) आवेदनका लागि तयार पारिएको मोबाइल किट मार्फत सेवा सन्चालन गरेका छौं’, अर्यालले भने, ‘सेवाग्राहीको उच्च चाप बावजुत पनि सबैलाई सेवा प्रवाह गर्न सफल भयौं ।’

नेपालमा विद्युतीय राहदानीका लागि आवेदन दिनका लागि सम्भवतः पहिलो पटक सञ्चालित घुम्ती सेवामा छिटफुट रुपमा सामान्य समस्या आए पनि नेपाल स्थित राहदानी विभागको समन्वय तथा प्राविधिक सहयोगमा समस्या समाधान गर्दे सेवा सन्चालन गरिएको थियो ।

दूतावासले आफूहरु भएकै ठाउँमा आएर सेवा दिएकामा सेवाग्राहीहरु पनि खुशी देखिन्थे । घुम्ती सेवाले यहाँका नेपालीलाई धेरै सहज बनाएको र स्थानीय रुपमा दूतावाससंग समन्वय गरेर सेवा प्रदान गर्ने कार्यमा जोडिन पाउँदा आफूहरुलाई पनि खुशी लागेको फिन्निश–नेपाली समाजका अध्यक्ष नवीन भट्टराईले जानकारी दिए ।

शिविरमा कार्यवाहक राजदूत अर्याल उपस्थित भएर सेवा प्रदान गरेका थिए भने फिन्ल्यान्डमा स्थानीय रुपमा फिन्निश–नेपाली समाज र एनआरएनए फिनल्यान्डले समन्वय गरेका थिए । फिनल्यान्डका लागि छुट्याइएको ३ दिन मध्ये १ दिन अन्तर्कया गर्ने सोच भएपनि सेवाग्राहीको अत्याधिक चापका कारण ३ नै दिन राहदानी, वारेसनामा तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

यस पटक नयाँ आवेदन दिनुपर्ने, पुरानो राहदानीको म्याद १ वर्ष भन्दा कम हुन गइ नवीकरण गरिसक्नुपर्ने भएका, हराएका र सच्याउनुपर्ने जस्ता अत्यावश्यक सेवा लिनुपर्नेलाई प्राथमिकताका साथ सेवा प्रदान गरिएको थियो भने सेवाग्राहीहरुको सुविधालाई ध्यान दिई आगामी दिनमा सकभर नियमित रुपमा फेरी घुम्ती सेवा सन्चालन गर्ने दूतावासले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू