बुधबार, माघ २, २०८१
12:46 | १८:३१

पुटिन उपस्थित भए जी–२० शिखर सम्मेलन बहिष्कार नगर्न बेलायती प्रधानमन्त्रीको आग्रह

रासस/एएफपी जुन २९, २०२२

नेटो सम्मेलनमा विश्व नेताहरु । तस्बिर एएफपी

म्याड्रिड, १५ असार–बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार भ्लादिमिर पुटिन उपस्थित भए नोभेम्बरमा इन्डोनेसियामा हुने जी–२० शिखर सम्मेलन बहिष्कार नगर्न सदस्य राष्ट्रका नेताहरूलाई आग्रह गरेका छन् । यसले ‘अरुलाई प्रचारको अवसर’ दिने उनले बताए ।

इण्डोनेसियाले यस वर्ष चक्रीय अध्यक्षात्मक प्रणाली अन्तर्गत जी–२० समूहको नेतृत्व गरेको छ । अप्रिलमा रूसका राष्ट्रपति पुटिनलाई आमन्त्रित गरिएको घोषणापछि जी–२० सम्मेलनको आयोजक इन्डोनेसियालाई भेलामा पुटिनलाई समावेश नगर्न अमेरिकालगायत पश्चिमी मुलुकहरूले दबाब दिँदै आएका छन् ।

नेटो शिखर सम्मेलनको अवसरमा जोन्सनले म्याड्रिडमा भने, “यो अवस्थामा पुटिन जी–२० सम्मेलनमा सहभागी भएमा आश्चर्यको कुरा हुनेछ । उहाँ जानुहुनेछैन । उहाँ एक ‘बहिस्कृत’ व्यक्ति हुनुहुन्छ ।”

“उहाँ जानुहुन्छ जस्तो मलाई लाग्दैन । सवाल के हो भने के हामी पश्चिमी देशहरूले जी–२० मा आफ्नो सिट खाली गरेर मञ्चलाई पूरै तर्क गर्न चीन र रूसलाई छोड्छौं ?”, उनले थपे, “मेरो विचारमा यदि तपाईंले जी–२० जस्तो गरिमामय मञ्च खाली गर्नुभयो भने, तपाईँले अरूलाई अफवाह फैलाउने अवसर दिने खतरा बढ्न सक्छ ।”

क्रेमलिनले पुटिन नोभेम्बर १५–१६ को शिखर सम्मेलनमा सहभागी हुने जनाएको छ ।

सम्मेलनमा अधिकांश प्रमुख उदीयमान अर्थव्यवस्थाहरू जस्तै इन्डोनेसियाले पनि तटस्थ स्थिति कायम राख्ने प्रयास गरेको छ र यूक्रेनमा रूसको महिनौं लामो आक्रमणको शान्तिपूर्ण समाधानको लागि आह्वान गरेको छ ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ताका लागि बुधबार कीभ गएका छन् र उनी बिहीबार मस्को जाने कार्यक्रम छ ।

उनले यस हप्ताको सुरूमा जर्मनीमा भएको जी–७ शिखर सम्मेलनमा पनि भाग लिएका थिए ।

जर्मन चान्सलर ओलाफ सोल्जले मंगलबार इन्डोनेशिया शिखर सम्मेलनलाई संकेत गर्दै जी–७ का नेताहरू ‘जी–२० सम्मेलनबाट अलग हुन नचाहेको’ उनीहरूले ‘त्यहाँ जाने’ योजना अझै बनाइरहेको बताएका थिए ।

गत अक्टोबरमा रोममा भएको जी–२० शिखर सम्मेलनमा पुटिनले भाग लिएका थिए । तर, कोरोनाभाइरस संकटका कारण उक्त सम्मेलनमा उनले भिडियो कन्फरेन्समार्फत् सहभागिता जनाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू