अफगानिस्तानका भूकम्प पीडितलाई राष्ट्रसंघीय एजेन्सीहरुको सहयोग
संयुक्त राष्ट्रसंघ, १० असार-अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले सहयोग गरिरहेका राष्ट्रसंघीय प्रवक्ताले जानकारी दिएका छन् ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसंघीय निकायहरुले अफगानिस्तानका भूकम्पपीडितलाई खाद्यान्न तथा अन्य आवश्यक सहयोग गरिरहेका छन् ।
राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले भूकम्प पीडितहरुका लागि आवश्यक लत्ता कपडा उपलब्ध गराएको बताइएको छ ।
त्यसैगरी विश्व खाद्य कार्यक्रमले खाद्यान्न तथा विश्व स्वास्थ्य संगठनले पीडित तथा घाइतेहरुका लागि आवश्यक औषधिको प्रबन्ध गरिरहेको पनि प्रवक्ता डुजारिकले जानकारी दिए ।
अन्य विदेशी निकाय तथा पाकिस्तानले पनि यहाँका पीडितहरुका लागि टेन्ट, लत्ताकपडा, खाद्यान्न र औषधि सहयोग गरिरहेका बताइएको छ ।
अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहरनजिकै बुधबार बिहान आएको ६.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी एक हजार जना भन्दा बढीको मृत्यु भएको छ भने हजारौँ व्यक्ति प्रभावित भएका छन् ।
भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समयानुसार बिहान १.३० बजेतिर भूकम्प आएको हो । घटनास्थलबाट गम्भीर अवस्थामा घाइते रहेकाहरुको उद्धार गरिएको र तथा पुरिएका वा थुनिएकाहरूलाई उद्धार गरेर हेलिकोप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौँ उद्धारकर्ता पनि परिचालित छन् ।
तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पीडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।