बिहीबार, माघ ३, २०८१
21:50 | ०३:३५

पिटरबरो नेपाली समाज यूकेद्वारा करांते प्रशिक्षण शुरु

नेपाली लिङ्क जुन ८, २०२२


लन्डन- पिटरबरो नेपाली समाजले स्थानीय नेपाली समुदायका लागि करांते प्रशिक्षण शुरु गरेको छ।  

विशेष: स्कुल तहका विद्यार्थीलाई लक्षित प्रशिक्षण गत आइतबार जुन ५ तारिखदेखि शुभारम्भ गरिएको छ । हरेक आइतबार विहान ९ देखि साढे १० बजेसम्म संचालन हुने प्रशिक्षणमा  प्राइमरी र सेकेण्डरी स्कुल तहका करिब ५० जना सहभागी रहने कार्यक्रम संयोजक लव शर्माले बताएका छन्।

नेपाली वरिष्ठ करांते मास्टर सुरेश वैद्य प्रशिक्षक रहेको प्रशिक्षणबाट सहभागीमा व्यायम,आत्मविश्वास, सेल्फ-डिफेन्स र अनुशासन लगायतमा सीप तथा कौशल विकास हुने विश्वास पिटरबरो नेपाली समाजले गरेको छ। समाजले दैनिक जीवनमा उपयोगी स्वास्थ्यसम्बन्धि अन्य जनचेतनामूलक कार्यक्रमहरु पनि आयोजना गर्दै जाने तयारी गरेको समाजका अध्यक्ष हरिहर भट्टराईले जानकारी दिए।

समाजले नेशनल लोटरी च्यारिटी फन्डबाट प्राप्त सहयोगले पिटरबरोमा बस्ने नेपाली समुदायलाई लक्षित गरी करांते, फुटबल, क्रिकेट सञ्चालन गर्दै आएको छ। साथै, छिट्टै नै योगा र  जुम्बा डान्स पनि शुरू गर्न लागेको अध्यक्ष भट्टराईले जानकारी गराएका छन्।

समाजले पिटरबरो काउन्सिलबाट उपलब्ध स्थानीय कम्युनिटी हल आफ्नै व्यवस्थापनमा करिब एक वर्षदेखि सञ्चालन गरिरहेको छ। समाजका सबै गतिविधि अहिले आफ्नै हलमा आयोजना भइरहेका छन्। समुदायमा भाइचारा अभिवृध्दि गर्ने उद्धेश्यले समाजले विगत ६ महिनादेखि हरेक सोमबार साँझ ५ बजेदेखि करिब २ घण्टा ‘कफी मिटिङ’ पनि सञ्चालन गरिरहेको महासचिव कृष्ण लुईटेलले बताए ।

पिटरबरो र यसका वरपर बस्ने नेपालीहरूलाई विशेष महत्व दिंदै समाजको वर्तमान कार्यसमिति र ट्रस्टी  बोर्डले कार्यक्रम  सञ्चालन गरेकोमा समाजका पूर्व अध्यक्षहरु किरण कार्की र केशव भण्डारीले सन्तोष व्यक्त गर्दै समाजका कार्यक्रममा सबैले सहयोग गर्नुपर्ने बताएका छन्।

यसैबीच, समाजले महावीर पुनको आविष्कार केन्द्रलाई सहयोग गर्न लगभग एक हजार पाउण्ड संकलन गरिसकेको कोषाध्यक्ष दिपक बस्यालले बताए । संकलित रकम छिट्टै बेलायत भ्रमणमा रहेका राष्ट्रिय आविस्कार केन्द्रका संचालक वैज्ञानिक महावीर पुनलाई हस्तान्तरण गरिने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू