लन्डनमा आदिवासी जनजाति नेतासँग अन्तरक्रिया
लन्डन । हाल बेलायत भ्रमणमा रहेका नेपालका आदिवासी जनजाति नेतासंग अन्तरक्रिया गरिएको छ ।
नेपालबाट बेलायत भ्रमणमा रहेका नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय नेपालका महासचिव दिवस राई, नेपाल आदिवासी जनजाति युवा संघका अध्यक्ष हेमन्त राई र राष्ट्रिय आविस्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुनसंग भेट्घाट तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूके, आदिवासी जनजाति महिला महासंघ यूके र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको संयुक्त आयोजनामा गत ३ जुन शुक्रबार लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा भएको हो।
कार्यक्रममा अतिथीहरुलाई खादा तथा दिवस राईकी धर्मपत्नी सन्जु राईलाई पुष्प गुच्छाले स्वागत गरिएको थियो ।
सो अवसरमा नेपाल आदिवासी जनजाति युवा महासंघका अध्यक्ष हेमन्त राईले बेलायतका युवालाई एकत्रित र संगठित पार्दै एकापसमा सूचना प्रवाह गर्ने लक्ष्य सुनाएका थिए । उनले लिम्बू पत्रकार महासंघका अध्यक्ष अमित थेबे को संयोजकत्वमा यूकेमा युवा तदर्थ समिति गठन गर्ने प्रस्ताव राख्दै समितिका सदस्यहरुको नामसहित खाका प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वैज्ञानिक डा. महावीर पुनले देशको अर्थतन्त्र के कसरी बढाउन सकिन्छ भन्नेबारे बताए । कुनै पनि देशको अस्तित्व त्यो देशको अर्थतन्त्र बलियो भयो भनेमात्र माथि जान्छ भन्ने पनि उनले उल्लेख गरे ।
पुन अमेरिकामा पढाई सकेर नेपाल फर्किनासाथ आफ्नै गाउँमा समुदायको विकासमा जुटेका थिए । उनले आफ्नो गाउँमा वायरलेस लिंक रिसर्च गरि इन्टरनेट सेवा पुरयाए। पैसा मात्र पूंजी नभै मानव पूंजी परिचालन गरेर देश समृद्धशाली बनाउन आविस्कार केन्द्र खोलेको उनको भनाइ थियो ।
डा. पुनले कोभिड महामारीका बेला अक्सिजन कन्सन्ट्रेटर वितरणका साथै पिपिइ उत्पादन गरि हस्पिटलमा दिनहुं विरामीको सेवा गरेका थिए ।
प्रमुख अतिथी राईले भूतपूर्व गोर्खा मुद्दा र आदिवासी आन्दोलनबारे बोलेका थिए ।
नेपालीहरु जुनसुकै देशमा गए पनि आफ्नो देशको इतिहास, संस्कार संस्कृति र सभ्यता भुल्न नहुनेमा जोड दिंदै उनले गोर्खा समस्या र नागरिकता निरन्तरताको विषय सरकार समक्ष पुरयाउने प्रतिवद्धता व्यक्त गरे । उनले महासंघले आदिवासी जनजातिका समस्या र उनीहरुमाथि भए गरेका अन्याय विभेदसरकार समक्ष पुरयाउने कार्य गरिरहेको पनि बताए ।
कार्यक्रम नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षतामा भएको हो । कार्यक्रममा नेफिन यूकेका संस्थापक अध्यक्ष थर्क राना, पूर्व अध्यक्षहरु ले. रिटायर्ड श्रीप्रसाद लिम्बु, तुल छन्त्याल, सल्लाहकारहरु विश्वासदिप तिगेला, नरेश काम्बाङ, नेफिन महिला महासंघ यूकेकी अध्यक्ष शान्ताकला राई, पूर्व अध्यक्ष बिमला राई, बिसीसी यूकेका अध्यक्ष धर्म तामाङ, मगर संघ बेलायतका निवर्तमान अध्यक्ष ले. रिटायर्ड सुनिल राना, किरात राई यायोख्खा यूकेका अध्यक्ष योगेश राई, निवर्तमान अध्यक्ष कल्पना राई, नरहाङ राई, लिला सेलिङ माबो लगायतको उपस्थिति थियो ।
कार्यक्रम महासचिव बिमला सेनेले सञ्चालन गरेकी थिइन् भने फोनिज यूकेकी अध्यक्ष गोमा रानाले स्वागत मन्तव्य दिएकी थिइन् ।