लेष्टरमा महारानीको ‘प्लेटिनम जुब्ली’: को छन् विशिष्ट अतिथि र कलाकार ?
लन्डन- मिडल्यान्डको लेष्टर शहरमा नेपाली समुदायको तर्फबाट बेलायती महारानी एलिजावेथ द्वितीयको ‘प्लेटिनम जुब्ली’ मनाइने कार्यक्रमको तयारी यतिबेला युद्धस्तरमा भइरहेको छ।
मिडल्यान्डस्थित सिंगो नेपाली समुदायको सहकार्यमा सिर्जनशिल लेष्टर नेपालद्वारा आयोजित समारोह यही जुन ६ तारिख साँझ लेष्टरको रामगर्हिया कम्युनिटी सेन्टरमा आयोजना हुँदैछ।
नेपाली शैलीमा प्लेटिनम जुब्ली मनाउने तयारी गरिएको समारोहमा नेपाली तथा बेलायती दुवै समुदायका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहने आयोजकले जनाएको छ।
आयोजक सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुँयालका अनुसार समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, स्थानीय लेष्टरशायरका मेयर जर्ज कोल र सांसद क्लडिया वेब, एनआरएनए अध्यक्ष कुल आचार्य, बीबीसी मास्टर सेफ सन्तोष साहसहितका विशिष्ट अतिथिहरुको सहभागिता पक्का भएको छ।
समारोहमा आधा दर्जन बढी नेपाली राष्ट्रिय कलाकारले विशेष प्रस्तुति गर्ने तयारी छ। आयोजकका अनुसार वीरु लामा, कल्पना श्रीपाल, अस्मिता डल्लाकोटी, विशाल रायमाझी, तुल्सी क्षेत्री, कृष्ण अखेली, भूमिका शाह र शान्तिरानी परियारलगायत गायक गायिकाले सांगीतिक प्रस्तुति गर्नेछन् । साथमा मोडल रीना थापा मगरले पनि नृत्य देखाउनेछिन्।
त्यसअवसरमा स्थानीय कलाकारका विभिन्न सांस्कृतिक झांकीहरुसम्मको तयारी छ ।
स्थानीय बेलायती समुदायसँग नेपाली समुदायको सम्बन्धमा हार्दिकता थप्ने र नेपाली कला, संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्याउने उद्धेश्यले कार्यक्रमको सोच बनाइएको आयोजक सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुँयालले बताएका छन्। समारोहमा मिडल्यान्डसंगै सिंगो बेलायतभरबाट सहभागिताको अपेक्षा गरिएको छ।