बिहीबार, माघ ३, २०८१
21:40 | ०३:२५

अल्वानियाको संसद् तीन पटक पनि राष्ट्रपति चयन गर्न असफल

रासस/सिन्ह्वा मे ३०, २०२२

तिराना, १६ जेठ – अल्वानियाको संसद् तीन पटकमा पनि राष्ट्रपति चयन गर्न असफल भएको छ ।

निर्वाचनका लागि तीन पटक समय तोक्दा पनि राष्ट्रपतिमा कसैको उम्मेदवारी नपरेपछि नयाँ राष्ट्रपति चयन गर्न संसद् नै असफल भएको हो ।

पछिल्लो समय प्रधानमन्त्री चयनका लागि सोमबार बैठक बोलाइएको र आइतबार बेलुका ४ बजेसम्ममा उम्मेदवारी दर्ता भइसक्नु पर्नेमा उम्मेदवारी दर्ता नभएको संसद् सचिवालयले जनाएको छ ।

त्यसअघि गत मे १६ र २३ तारिखमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने तय गरिएको थियो ।

प्रक्रिया सुरु भएदेखि नै सत्तारुढ दल सोसलिष्ट पार्टी (एसपी)ले सुरुको तीन चरणसम्म विपक्षी दलको तर्फबाट उम्मेदवारी दर्ताका लागि मौका दिन चाहेको जनाएको छ ।

तीन पटकसम्म पनि विपक्षी दलहरूले उम्मेदवारी दर्ता नगरेर उनीहरु गैरजिम्मेजार भएको सत्तारुढ दल एसपीका प्रमुख तौलान्त बालाले आरोप लगाएका छन् ।

अल्वानियाको राष्ट्रपति चयन हुनका लागि पहिलो तीन चरणमा हुने निर्वाचनमा कुल सांसदहरू मध्ये ८४ मत आवश्यक पर्नेमा अहिले सत्तारुढ दलसँग ७४ सांसदको मात्रै समर्थन छ ।

अल्वानियाको संसदमा अहिले १४० सांसद छन् । तीन पटकसम्म कुनै उम्मेदवारले ८४ सांसदको समर्थन जुटाउन नसकेपछि चौथो वा पाँचौ चरणको निर्वाचनमा ७१ सांसदको मात्रै समर्थन भएपनि पुग्ने व्यवस्था छ ।

उम्मेदवारी दर्ताका लागि भने २० सांसदको हस्ताक्षर बुझाउनु पर्ने प्रावधान छ ।

अहिलेका राष्ट्रपति इलिर मेटाको कार्यकाल यही जुलाईमा सकिने भएकाले नयाँ राष्ट्रपति चयन गर्नुपर्ने भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू