शुक्रबार, मंसिर १४, २०८१
16:32 | २२:१७

गणतन्त्र दिवसका अवसरमा ८१८ कैदीले पाए माफी  

रासस मे २८, २०२२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका–२०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन् ।

राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा खड्ग श्रेङ लिम्बू समेतका २७१ र नरबहादुर साँवा समेत ५४७ गरी कूल जम्मा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेशसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान र असल चालचलन भएका व्यक्तिलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्को यही जेठ १० गते बसेको बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी माफी मिनाहा गरिएको हो ।

त्यस्तै राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसकै अवसरमा मन्त्रिपरिषद्को यही जेठ १३ गतेको बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेत १६ कैदीको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम कैद माफी गरेकी छन् ।

नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस–२०७९ का अवसरमा उनले उक्त माफी गरेकी हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू