बिहीबार, माघ ३, २०८१
21:45 | ०३:३०

अमेरिकी विदेशमन्त्रीले चीनमाथि गलत आरोप लगाएः चीन

रासस/एएफपी मे २७, २०२२

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन । तस्बिर एपी

बेइजिङ, १३ जेठ-अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको ‘बढ्दो प्रभाव’लाई सन्तुलित गर्नुपर्ने बताएपछि अमेरिकी अधिकारीले चीनबारे भ्रामक टिप्पणी दिएको चिनिया विदेश मन्त्रालयले जनाएको छ ।

ब्लिन्केनको भाषणले चीनबारे ‘गलत सूचना फैलाएको, चीनबाट सुरक्षा खतरा हुने भन्ने बिषयलाई बढाइचढाइ गरेको, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र चीनको स्वदेश तथा तथा विदेश नीतिलाई निन्दा गरेको’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा बताए ।

चीनले आफ्नो बढ्दो प्रभाव र विश्वव्यापी महत्वाकांक्षाबारे हालैका दिनहरूमा संयुक्त राज्य अमेरिका र उसका पश्चिमी सहयोगी राष्ट्रहरूबाट चेतावनीको स्वरको सामना गर्नुपरेको छ ।

बिहीबारको भाषणमा ब्लिन्केनले चीनको ‘अन्तरराष्ट्रिय अवस्थालाई पुनः आकार दिने अभिप्राय’ बारे चेतावनी दिंदै विश्वव्यापी व्यवस्थामा सुरक्षाका लागि आह्वान गरेका थिए ।

उनले बेइजिङलाई आफ्नो इलाकाको भागको रूपमा चीनले दाबी गरेको स्वशासित द्वीप ताइवानमाथि तनाव बढाएको आरोप पनि लगाएका थिए । उनले बेइजिङले विश्वभरका देशहरूसँग ताइवानको सम्बन्धलाई टुटाएको र यसलाई अन्तरराष्ट्रिय संगठनहरूमा भाग लिनबाट रोकेको आरोप लगाएका थिए ।

ब्लिन्केनको भाषणको ‘खरो रूपमा खण्डन’ गर्दै चीनले यसको कूटनीतिकरूपमा विरोध गर्ने वाङले बताए । उनले भने, ‘वासिङ्टनले ‘चीनको विकासलाई रोक्न, दबाउन र अमेरिकी शासन र शक्ति कायम राख्न’ प्रयास गरेको देखिन्छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू