गेसो कार्यालयमा मन्त्री पौडेलसंग अन्तरक्रिया
लण्डन – गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र राज पौडेलसंग अन्तरक्रिया गरेको छ ।
गत २५ मे बुधबार अल्डरसटस्थित गेसो कार्यालयमा गेसो कार्यवाहक अध्यक्ष धर्म तामाङसहित भूतपूर्व गोर्खाले मन्त्री पौडेलसंग अन्तरक्रिया गरेका हुन् ।
लामो समयदेखि गोर्खा अधिकारका लागि आवाज उठाउँदै आएको गेसोले शिक्षा सम्बन्धि एक विशेष कार्यक्रममा बेलायत आएका मन्त्री पौडेललाई स्वागत गर्दै आफ्ना समस्याहरु राखेको हो ।
सो अवसरमा उनलाई गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङले खादा लगाई स्वागत गरे ।
त्यस्तै, उनीसंगै नेपालबाट आएका उनका पीए राजेन पौडेल र बेलायतस्थित नेपाली जन प्रगतिशिल मञ्च यूकेका मानबहादुर गुरुङलाई पनि खादा लगाई स्वागत गरिएको थियो ।
सो अवसरमा गेसो कावा अध्यक्ष तामाङले भूतपूर्व गोर्खा अवस्थाबारे जानकारी गराउँदै आफूहरुले विगत ३० बर्ष देखि गोर्खाहरुको हक अधिकारका लागि गरिएको विभिन्न आन्दोलनबारे चर्चा गरे ।
साथै उनले गोर्खा समान अधिकार, नागरिकता निरन्तरतालगायत विषयमा नेपाल सरकारले जिम्मेवारी लिर्नुपर्ने बताउँदै त्यसका लागि आवश्यक पहल गरिदिन मन्त्रीसंग जोडदार माग राखे ।
सो अवसरमा मन्त्री पौडेलले नेपालीहरु बेलायती सेनामा भर्ती भएपछि मात्र नेपालको बेलायतसंग कूटनैतिक सम्बन्ध गाँसिएको स्मरण गर्दै गोर्खा अधिकार, नागरिकता निरन्तरता लगायत मुद्दामा आफ्नो तर्फबाट सक्दो छिटो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले विदेशमा रहेका नेपालीहरुको मताधिकारका लागि कार्यविधि बनेको र ऐन बनेपछि कार्यान्वयनमा जाने समेत बताए ।
उक्त अन्तरक्रियामा गेसोका केन्द्रिय उपाध्यक्ष तिर्खा पुन, केन्द्रिय सदस्य देवीमाया पुन, क्षेत्रीय अध्यक्षहरु, सल्लाहकारलगायत भूतपूर्व गोर्खाहरुको उपस्थिति थियो ।
गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया गेसो केन्द्रिय सदस्य नरहाङ राईले सञ्चालन गरेका थिए ।