शुक्रबार, मंसिर १४, २०८१
16:36 | २२:२१

काठमाडौँ महानगरपालिकाका २७ वडामा मत गणना, बालेनको जित निश्चित

रासस मे २५, २०२२

काठमाडौं । काठमाडौँ महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा गणना कार्य जारी छ ।

मत परिणाम सार्वजनिक हुनेमा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६ र १७ को मतगणना जारी छ ।

वडा नं १८ मा एमालेका महर्जन विजय

पछिल्लो समय जारी गरेको मतपरिणामअनुसार वडा नम्बर १८ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का न्हुछेकाजी महर्जन एक हजार २९३ मत प्राप्त गरी अध्यक्ष पदमा विजय भएका छन् । महर्जनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजन महर्जनले ७७१ मत प्राप्त गरे ।

त्यसैगरी वडा सदस्यमा एमालेकै तर्फबाट रचना शर्मा र हेमज्योती शाक्य विजयी भएका छन् । महिला सदस्यमा हीराशोभा डंगोल विजय भएकी छन् । दलित महिला सदस्यमा यसअघि नै अम्बिका परियार निर्विरोध निर्वाचित भएकी थिइन् ।

वडा नं १९ मा कांग्रेसका श्रेष्ठ विजय

वडा नं १९ मा नेपाली कांग्रेसका उम्मेदवार राजेशकुमार श्रेष्ठ एक हजार २०० मत प्राप्त गरी अध्यक्ष पदमा विजय भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गरे ।

वडा सदस्यमा कांग्रेसका चन्द्रमान डङ्गोल र दिनेशमान जोशी विजय भएका छन् । महिला सदस्यमा कांग्रेसकी रेणु कमलभारती शाही र दलित महिला सदस्यमा रञ्जिता परियार विजय भए ।

बालेन्द्र साहको ५४ हजार ६२८ मत

त्यसैगरी कामपाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५४ हजार ६२८ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणनाअनुसार नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार ४९२ मत प्राप्त गरेकी छन् ।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३३ हजार ९८१ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीकी उम्मेदवार सुनिता डंगोल ६१ हजार ३१८ मत ल्याएर अग्रस्थानमा छन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २० हजार ९०६ मत पाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू