तमु समाज यूकेको बुद्ध जयन्ती पूजा
लण्डन-तमु समाज यूकेले २५६६ औं बुद्ध जयन्ती पूजा गरेको छ । शान्तिका अग्रदुत, एशियाका तारा तथा नेपालका राष्ट्रिय बिभूति भगवान गौतम बुद्धको जन्म, बोधिलाभ (बुद्धत्व प्राप्ति) तथा महापरिनिर्वाण भएको पुण्य तिथि बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको पावन अवसरमा समाजले २१ मे शनिवार बुद्ध जयन्ती पूजा गरेको हो ।
कार्यक्रम लन्डन वेम्बली बरहाम पार्कस्थित तमु समाज यूके नेपलीज कम्युनिटी सेन्टरमा भएको थियो ।
आमा समूहको सहयोग, खेलकुद तथा खाध्य सचिव हरिमान गुरुङको संयोजकत्व र अध्यक्ष शिव कुमार गुरुङको सभापतित्वमा सम्पन्न बुद्ध जयन्ती पूजा कार्यक्रमको प्रमुख अतिथि तथा मुल गुरु थिए डा. ग्यल्जे सेर्पा खेन रिम्पोछे ।
पूजा संचालनमा अन्य लामा गुरुहरु लोपेन फुर्बा तेन्जि, बाबु सिङ्गे लामा, दावा नोर्बु, स्यानु लामा र मिङमार लामा पनि संलग्न थिए।
प्रमुख अतिथि रिम्पोछेलाई कार्यक्रम स्थलमा भव्य स्वागत गरे पस्चात प्रमुख अतिथि, समाजका अध्यक्ष र आमा समूहकी अध्यक्षले संयुक्तरुमा दीप प्रज्वलन गरि शुभारम्भ गरिएको बुद्ध जयन्ती पूजा कार्यक्रममा तमु समाज युकेका पूर्ब अध्यक्ष शिव शरण गुरुङ, सल्लाहकार तथा काउन्सिलर कमल गुरुङ लगायत अन्य सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, आमा समूहकी अध्यक्ष उमा देवी गुरुङ र अन्य पदाधिकारी तथा आमा दिदिबहिनीहरु, थाउजेन्ड बुद्ध युकेका प्रथम महिला ध्रुव गुरुङ लगायत आमा दिदिबहिनी र लण्डन वरपरका नेपाली जेष्ठनागरिक तथा श्रद्धालु भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो ।
तमु समाज युकेले स्थापनाकालदेखि निरन्तररुपमा वैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको आवसरमा बुद्ध जयन्ती पुजा संचालन गर्दै आएको छ।
विगत बर्षहरु झैं यस बर्षको बैशाख पुर्णिमा तथा २५६६ औं बुद्ध जयन्ती पूजा कार्यक्रम पनि आमा समूहको सकृयतामा भएको हो । निशुल्क प्रवेश र खाना ब्यबस्थापन तथा केटरिङ पनि आमाहरु आफैले गरेका थिए।
कार्यक्रमका निम्ति थुप्रै दानवीर व्यक्तिहरुले श्रद्धाभावले आर्थिक, भोजन, पेय पदार्थ र अन्य आवश्यक पूजा सामग्री प्रयोजन तथा दान सहयोग स्वरुप उपलब्ध गराएका थिए।
बिहान १० बजे आरम्भ गरिएको बुद्ध जयन्तीको विषेस पूजापाठमा गुरु डा. ग्यल्जे सेर्पा खेन रिम्पोछेले बुद्ध जयन्तीको महत्व, बुद्ध धर्म, बुद्धका उपदेश र सादगी जीवनबारे महत्वपूर्ण प्रवचन दिएका थिए । प्रवचन र पूजा कार्यक्रमको अन्तमा उपस्थित सबै भक्तजनले खेन रिम्पोछे गुरु तथा अन्य श्रद्धेय लामा गुरुहरुबाट अभिषेक र प्रसाद ग्रहण गरे ।
तमु समाज यूकेका महासचिव धरमबल गुरुङले संचालन गरेको कार्यक्रममा आमा समूहकी उपाध्यक्ष उमा देवी गुरुङले स्वागत मन्तब्य र अध्यक्ष शिव कुमार गुरुङले धन्यबाद मन्तव्य राखेका थिए।
यसैगरि हेल्थ एण्ड सेफ्टिबारे महासचिव गुरुङले जानकारी दिएका थिए भने कोषाध्यक्ष खेम बहादुर गुरुङले भोजन तथा पेय पदार्थ दान, आवश्यक विविध सामग्री प्रायोजक तथा आर्थिक सहयोग गर्ने दाताहरुको नामावली धन्यवादसहित पढेर सुनाएका थिए।
बुद्ध जयन्ती पूजापाठ कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख गुरु परम डा. ग्यल्जे सेर्पा खेन रिम्पोछे नेपालमा हालै प्रकाशित आवश्यक धर्माचार्य दैनिक साधना पुस्तकको संकलक तथा सम्पादक हुन् । तीन भाषा (भोट, नेपाली र अंग्रेजी) मा उल्लेखित उक्त दैनिक साधना पुस्तकले नेपाली बौद्ध साधक बर्गहरुलाई साधना गर्न अति सरल बनाएको छ । नेपाली समाजमा बौद्ध धर्मको प्रचार प्रसार गर्न पनि पुस्तकको ठुलो योगदान छ।
उक्त धार्मिक ग्रन्थका माध्यमबाट प्राणी जगतको सुख, हित र कल्याणको एउटै मात्र हेतु रहेको पवित्र बुद्ध धर्म सारा जगतमा फैलाएर सुख शान्ति कायम गर्न महत्वपूर्ण सहयोग पुरयाएको भन्दै डा. ग्यल्जे सेर्पा खेन रिम्पोछेलाई समाजका अध्यक्ष शिव कुमार गुरुङ र आमा समूहकी अध्यक्ष उमा देवी गुरुङले समाजको तर्फबाट खादा प्रदान गरि सम्मान गरे ।
यसै गरि आवश्यक धर्माचार्य दैनिक साधना पुस्तक प्रकाशनको सम्पूर्ण आर्थिक खर्च प्रायोजन गरि निशुल्क पुस्तक वितरण गर्ने श्रीमति आशु गरुङलाई पनि सम्मान गरियो ।
कार्यक्रममा गुरु डा. ग्यल्जे सेर्पा खेन रिम्पोछे बेलायत भ्रमणमा आउन आर्थिक सहयोग तथा प्रायोजन गर्ने थाउजन्ड बुद्ध यूकेका जुठी गुरुङ, लक्ष्मी गुरुङ, आशु गुरुङ र मदन गुरुङ लगायत अन्य आमा, दिदीबहिनीहरुलाई धन्यवाद सहित सम्मान गरिएको थियो ।
सोही क्रममा गत मे ५ तारिख सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा काउन्सिलर पदमा निर्वाचित तमु समाज यूकेका सल्लाहकार तथा काउन्सिलर कमल गुरुङलाई पनि बधाई सहित सम्मान गरियो ।
तमु समाज यूकेले आयोजना गरेको २५६६औं बुद्ध जयन्ती पूजापाठ कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकोमा आयोजक समिति तथा उपस्थित सबै भक्तजनले खुशी ब्यक्त गरेका थिए । –शिवशरण गुरुङ