बिहीबार, माघ ३, २०८१
22:59 | ०४:४४

अष्ट्रेलियाका नयाँ प्रधानमन्त्रीले लिए शपथ

रासस/सिन्ह्वा मे २३, २०२२

शपथ लिंदै अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानी । तस्बिर एपी

क्यानबेरा,९ जेठ-अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले सोमबार शपथ लिएका छन् । गत शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी भएका लेबर पार्टीका नेता अल्बानीले अष्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रुपमा शपथ लिएका हुन् ।

उनीसँगै केही मन्त्रीहरुलाई पनि शपथ खुवाइएको छ । उपप्रधान तथा रोजगार मन्त्रीको रुपमा रिचार्ड मार्लेस, विदेश मन्त्रीका रुपमा पेन्नी वाङ र अर्थमन्त्री तथा महिला मन्त्रीका रुपमा कटी जाल्लाघरलाई शपथ खुवाइएको हो । जापानको राजधानी टोकियोमा मंगलबार हुन लागेको “द क्युड” सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री र विदेशमन्त्री जानु पर्ने भएकाले हतार हतार शपथ ग्रहण कार्यक्रम गरेको जनाइएको छ ।

सम्मेलनमा अमेरिका, जापान र भारतका शीर्ष नेता र विदेश मन्त्रीसमेत सहभागी भएकाले अष्ट्रेलियाका विदेश मन्त्री जानु पर्ने भएको हो ।

उनी शपथ ग्रहणलगत्तै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री अल्बानी स्वदेश नफर्किदासम्म उपप्रधानमन्त्री मार्लेसले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेबारी सम्हाल्ने बताइएको छ ।

अष्ट्रेलियाको तल्लो संघीय संसद्मा १५१ सिट छ । अष्ट्रेलियाको तल्लो संघीय संसद्मा बहुमत पुरयाउनका लागि कम्तीमा ७६ सिट जित्नु पर्दछ । त्यो पुरयाएर लेवर पार्टीले नयाँ सरकार गठन गरेको हो ।

सत्तारुढ गठवन्धनको नेतृत्व गरेका निवर्तमान प्रधानमन्त्री स्कट मोरिसनले पराजय स्वीकार गर्दै तत्काल प्रधानमन्त्री र पार्टीको नेतृत्वबाट राजीनामा दिएका थिए ।

अष्ट्रेलियामा १८ वर्ष पुरा भएका हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगकाअनुसार यो वर्ष मतदाताको कुल सङ्ख्या एक करोड ७० लाखभन्दा बढी छ । मतदानका लागि देशभरी सात हजारभन्दा बढी मतदान केन्द्र तोकिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू