बिहीबार, माघ ३, २०८१
00:01 | ०५:४६

नेपालीले स्थापना गरे लन्डनमा पहिलो बौद्ध गुम्बा

नेपाली लिङ्क मे २३, २०२२

लन्डन। नेपालीको पहलमा लन्डनमा पहिलो बौद्ध गुम्बा स्थापना भएको छ । डायमन्ड बुद्धिष्ट सेन्टर यूकेद्वारा साउथ इष्ट लन्डनको वुल्लीचमा निर्माण गरिएको गुम्बा गतसाता उद्घाटन गरिएको छ ।

सेन्टरका अध्यक्ष एवम् गुम्बाका संस्थापक सुमलकुमार गुरुङले करिब पाँच लाख पाउन्ड (आठ करोड रुपैया) को लागतमा गुम्बा स्थापनाको कार्य पूरा भएको जानकारी दिए । पछिल्लो पाँच वर्षदेखि बेलायतस्थित नेपाली समुदायमा अभियान चलाएर गुम्बाका लागि आवश्यक कोष जुटाइएको उनले बताए ।

विगतमा गिर्जाघर रहेको भवनलाई खरिद गरेर बौद्ध गुम्बामा परिणत गरिएको हो। जसका लागि नेपालबाट करोडौँको खर्चमा मूर्ति, सुनका प्लेट लगाइएका गजुर, चाँदीका सामग्रीसहित तीन टन सामग्री ल्याइएको सेन्टरले जनाएको छ ।

गुम्बाका मूलगुरु एवम् तमु बौद्ध लामा धर्म समाजका संस्थापक अध्यक्ष खेम्पो गुरु शिर लामा (थुप्तेन एसे) गुरुङ, गुम्बा संस्थापक सुमलकुमार गुरुङ, ट्रस्टीहरु मोहन गुरुङ र दुर्गामल गुरुङले आइतबार गुम्बा उद्घाटन गरेका थिए । दुई दिनसम्म चलेको उद्घाटन कार्यक्रमको पहिलो दिन भूमि शुद्धिकरण, मूर्ति प्रतिस्थापनलगायतका कार्य गरिएको थियो । 

संस्थापक गुरुङका अनुसार गुम्बा हरेक दिन बिहान ८ बजेदेखि दिनभर खुला राखिनेछ । गुम्बामा बौद्ध परम्पराअनुसारका नियमित पूजा, प्रवचनदेखि विशेष तिथिहरुमा छुट्टै धार्मिक गतिविधिहरु पनि सञ्चालन हुनेछन् । जन्मदेखि मृत्युसम्मका हरेक संस्कारका लागि पनि गुम्बा खुला रहनेछ । 

गुम्बाका मूलगुरु खेम्पो गुरु शिर लामा (थुप्तेन एसे) गुरुङ छन् । गुम्बा नियमित सञ्चालनका लागि नेपालबाट अन्य लामा गुरुहरु पनि ल्याइने योजना छ । 

गुम्बा संस्थापक गुरुङले साउथ इष्ट लन्डन क्षेत्रमा बसोबास रहेका बौद्ध धर्मालम्बीहरुलाई आफ्नो धर्म अभ्यास गर्ने केन्द्रको रुपमा केहि वर्षअघि नै गुम्बाको परिकल्पना गरिएको बताए । गुम्बामा ध्यानयोग, प्रवचन लगायतका गतिविधिहरु पनि नियमित सञ्चालन गर्दै जाने उनी बताउँछन् । 

बेलायतमा धेरै नेपाली बसोबास रहेको अल्डरसट क्षेत्रमा केहि वर्षअघिदेखि नै बीसीसी यूकेद्धारा स्थापित गुम्बा सञ्चालनमा रहेपनि लन्डनभित्र भने नेपालीले स्थापना गरेको यो नै पहिलो गुम्बा हो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू