बिहीबार, माघ ३, २०८१
00:02 | ०५:४७

लन्डनको ऐतिहासिक ट्राफल्गर स्क्वायरमा नेपाल झल्काउने बुद्धजयन्ती

नेपाली लिङ्क मे २३, २०२२

लन्डन- बेलायतको राजधानी लन्डनको मुटु भनिने ट्राफल्गर स्क्वायर आइतबार नेपालमय बन्यो। 

संसारभरबाट आएका हजारौं मानिस दैनिक ओहोरदोहोर गर्ने क्षेत्रमा मौलिक नेपाली पहिरनमा सजिएका नेपालीहरुको चहलपहल, नेपाली गीतसंगीत, साँस्कृतिक कार्यक्रमलगायतले धेरै गैरनेपालीको पनि ध्यान आकर्षित गर्‍यो।

बुद्ध फाउन्डेसन यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए आइसीसीसमेतको सहकार्यमा लन्डनको ट्राफल्गर स्क्वायरमा वर्षेनी गर्दै आइएको बुद्धजयन्ती कार्यक्रमको यो पाँचौं संस्करण थियो । जुन कार्यक्रममा लन्डनसहित आसपास र मिडल्याण्ड, स्वीन्डन लगायतका क्षेत्रबाट समेत सयौं नेपाली सहभागी भएका थिए।

बुद्ध जयन्ती समारोहलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बहु भाषा, संस्कृति र सभ्यता भएको नेपाललाई विश्वभर चिनाउन सगरमाथा, गौतम बुद्ध र पशुपतिनाथले संसारको मार्गदिशा दिएको बताएका छन् । मन्त्री पौडेलले गौतम बुद्ध दर्शन र भाषा, संस्कृति र सभ्यता बुझ्न नेपालको भ्रमण गर्न विश्वभरका राजनेताहरूलाई आग्रह गरे। 

गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले भगवान् बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त भएको उनले बताए।

‘हामी नेपाली संस्कृति, सभ्यता, भाषा र धर्ममा महान छौं र बुद्ध प्रति गर्व गर्छौं,’ उनले भने।

बुद्ध फाउन्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मौलिक धिमे बाजा, भैरव नाच, थारु नाच, नेपालको हिमाल, पहाड, तराई लगायत क्षेत्रको मौलिक पहिचान झल्किने झाँकीहरू समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा नेपालबाट आएका स्याल्पा तेन्जिङ रिम्पोचेले बौद्ध दर्शनसम्बन्धि प्रवचन दिएका थिए । समारोहलाई थाइल्यान्ड, भारत, श्रीलंका, मंगोलियालगायतका मुलुकका बेलायतस्थित राजदूत एवम् कूटनीतिक प्रतिनिधिहरुले सम्बोधन गरेका थिए। 

त्यस्तै, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाल पर्यटन बोर्डका मानार्थ दूत महन्त श्रेष्ठ, एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यलगायतले पनि आफ्नो मन्तव्य राखेका थिए।

बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम सफल पार्न सहयोग गर्ने तथा सहभागी हुने सबैप्रति आयोजकको तर्फबाट आभार प्रकट गरेका थिए। त्यसअघि कार्यक्रम संयोजक एवम् फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले कार्यक्रमको अवधारणाबारे बताएका थिए। कार्यक्रम सञ्चालन महासचिव लक्ष्मी राई (लारा) र सुर्य गुरुङले गरेका थिए। 

त्यसअवसरमा बीसीसी यूकेको संयोजनमा शान्तिपूजाका साथै विश्व शान्तिको कामनासहित सामूहिक दीप प्रज्वलन पनि गरिएको थियो।  

लन्डनको केन्द्र ट्राफल्गर स्क्वायरमा सम्पन्न कार्यक्रममार्फत् बुद्धको सन्देश प्रचारप्रसार साथै विश्वमाझ नेपालको पर्यटन र कला, संस्कृति प्रवर्द्धनमा पनि टेवा पुग्ने आशा आयोजकले लिएका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू