बलात्कृत युवतीको भिडियो अनुसन्धान गर्न पांच सदस्यीय समिति गठन
काठमाडौं । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वको बनेको समितिमा समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का छन् । समितिले शुक्रबारदेखि नै काम सुरु गरेको गृह मन्त्रालयले जनाएको छ ।
आठ वर्ष अघि एउटा सुन्दरी प्रतियोगिताका आयोजकले ६ महिनासम्म डर धम्की देखाइ बलात्कार गरेको भन्दै सार्वजनिक एक युवतीको ह्दयविदारक भिडियोले अहिले सर्वत्र ध्यान खिचेको छ । पीडकलाई कानूनी कठघरामा ल्याउन माग गर्दै युवा र महिलाहरु विरोधमा उत्रिएका छन् ।