किराया नेपाल अध्यक्ष राईको हस्तक्षेपविरुद्ध किराया बेलायतको चुनौती
लन्डन । किरात राई यायोक्खा नेपालका केन्द्रीय अध्यक्ष दिवस राईले गरेका क्रियाकलाप र गतिविधिका कारण पछिल्लो समय किराया बेलायतमा उत्पन्न विवाद जारी छ ।
विवाद समाधान गर्नुको सट्टा झन् प्रोत्साहित गरेको भन्दै अध्यक्ष राईविरुद्ध यसअघि नै किराया बेलायतले आपत्ति जनाइसकेको छ ।
जारी विवादका कारण ध्रुवीकरणको अवस्थामा पुगिरहंदा मेलमिलाप प्रयासकै क्रममा किराया नेपालले ठाडो हस्तक्षेप गरेको भन्दै किराया बेलायतले पुनः विज्ञप्ति जारी गरेर आक्रोश व्यक्त गरेको हो ।
‘किरात राई यायोक्खा नेपालले संस्थाको विधान बमोजिम किराया बेलायत किराया नेपालको विदेश शाखा संगठन रहेको भनि एउटा पक्षको समर्थन गर्दै संस्थागत आधिकारिकता मात्र दिएन, किराया बेलायतको आन्तरिक मामिलामाथि ठाडो हस्तक्षेप गर्नुका साथै संस्थाभित्र चलिरहेको विवाद झन चर्काउने र उत्तेजित पार्ने काम गरेको छ’ अध्यक्ष चन्द्रबहादुर राई र महासचिव चन्द्रवती राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष राई मेलमिलापको पक्षमा नरहेको भन्दै किराया नेपालका अध्यक्ष दिवस राईको पहल तथा मध्यस्थतामा मेलमिलापको लागि हुने कुनैपनि संवादमा आफूहरु सहभागी नहुने र हामीसँग मिल्न चाहानेहरुका लागि संवाद तथा मेलमिलापको ढोका खुल्ला रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति जस्ताको त्यस्तै-
किरात राई यायोक्खा बेलायतभित्र विवाद उत्पन्न भइ पक्ष–विपक्षमा ध्रुवीकरण हुने अवस्था सिर्जना भएपछि विवाद समाधान तथा मेलमिलापका प्रयासहरु जारी रहेकै क्रममा किरात राई यायोक्खा नेपालले संस्थाको विधान बमोजिम किराया बेलायत किराया नेपालको विदेश शाखा संगठन रहेको भनि एउटा पक्षको समर्थन गर्दै संस्थागत आधिकारिकता मात्र दिएन, किराया बेलायतको आन्तरिक मामिलामाथि ठाडो हस्तक्षेप गरयो । जसले संस्थाभित्र चलिरहेको विवादलाई झन् चर्काउने, उत्तेजित पार्ने काम गरयो । ध्रुवीकरण झन् बढेर विभाजनको अवस्थामा पुग्यो । बेलायतबासी किरात राईहरुबीच आपसमै घृणा उत्पन्न गरायो । किराया बेलायत संस्थाभित्र बलिरहेको आगोमा घीउ थप्ने काम किराया नेपालले गरयो जसको नेतृत्व अध्यक्ष दिवस राईज्यूले गरिरहनु भएको थियो र छ ।
यसैबीच किराया नेपालको केन्द्रीय अध्यक्ष दिवस राईज्यू बेलायत भ्रमण आउने तर उहाँको बेलायत भ्रमणको उद्देश्य किराया बेलायतको गहिरिंदो विभाजन रोक्ने र मेलमिलापको वातावरण निर्माण गर्नेमा केन्द्रित भएको पाइएन । उहांको बेलायत भ्रमणको उच्च प्राथमिकतामा आफूले जन्माएको किराया बेलायत शाखालाई अनुमोदन गर्ने अनि बेलायती किरात राईहरुरुबीच कलहको बीउ बनेको विवादित र अवैधानिक चुलालाई सामूहिक चुला मान्दै मिति १६ मे २०२२ मा आयोजना गरिएको सामूहिक चुला पूजामा सरिक हुने उहाँको भिडियो सन्देशमार्फत जानकारी प्राप्त भयो । अध्यक्षले यहाँको अवस्थालाई कम आकलन तथा बेवास्ता गरेको पाइएकाले हामीले मिति १० मे २०२२ को दिन एक प्रेस विज्ञप्ति जारी गर्दै विवादित चुलालाई सामूहिक मान्दै सामूहिक चुला पूजामा सरिक भए सशक्त प्रतिकार गरिने चेतावनी दिएका थियौं ।
प्रत्युत्तरमा, अध्यक्ष दिवस राई ज्यूले किराया नेपालको विधान बमोजिम किराया बेलायत किराया नेपालको विदेश शाखा संगठनको रुपमा रहेकोले सोही विधानको अधिनमा रहि आफूले संस्थागत आधिकारिकता दिएको यसमा आफ्नो कुनै ब्यक्तिगत रुचि तथा गलत अभिप्राय नरहेको भन्दै आफ्नो बचाउ गर्नु भएको पाइयो । तर सन् २००४ मा स्थापित किरात राई यायोक्खा बेलायतको आफ्नै स्वतन्त्र विधान छ । साथै उक्त विधान किराया नेपालको विधानको कुनै पनि परिच्छेद वा धारा वा उपधारा वा नियम बिनियम अन्तर्गत रहेर निर्माण भएको छैन् । किराया बेलायतको विधानमा किराया बेलायत किराया नेपालको विदेश शाखा हो भन्ने कहाँ लेखिएको छ ? देखाउन उहाँ लगायत सरोकारवाला सबैलाई चुनौती दिन चाहान्छौं ।
संस्थागत सम्बन्धबारे दुबै (बेलायत र नेपाल) तर्फ समान बुझाई अनि सोही मुताविक लिखित दस्तावेजहरु हुनु पर्छ कि पर्दैन ? किराया नेपालको विधानमा विदेश शाखा संगठनको ब्यवस्था छ भन्दैमा यसको व्यावहारिक पक्षको ख्याल नगरी सामान्य बुझाइसमेत नराखी मनपरी फैसला दिन मिल्छ ? अध्यक्ष दिवस राईज्यूले आफ्नो कारण किराया बेलायत विभाजनको संघारमा पुगेको नैतिक जिम्मेवारी लिनु पछुतो मान्दै गल्ति सच्याउने कोशिस गर्नुको सट्टा हाल आएर आफूले संस्थागत आधिकारिकता दिएको भन्दा फरक पक्षलाई भिन्न छुट्टै संस्था हो भन्दै झन गैर जिम्मेवार अभिब्यक्ति दिदै हिंड्नु भएको पाइएको छ ।
किराया बेलायत किराया नेपालको विधानको नियम विनियमा आधारित रहेर स्थापना तथा संचालन गरिएको संस्था होइन् । अहिलेसम्म संस्थाको जति सम्मेलन वा महाधिवेशन भए, नयाँ नेतृत्व चुनिए संस्थाको यसै स्वतन्त्र विधानमा आधारित भएर सम्पन्न भएका छन् । तसर्थ किराया बेलायतले किराया नेपालसित समान हैसियतमा रहने गरी दुई संस्थाबीचको सम्बन्ध स्थापित गर्दै भाइचारा अभिवृद्धि गर्ने उद्देश्य स्थापनाकालदेखि नै लिएको र सोही विचार तथा मान्यतामा हामी अघि बढिरहेको पनि स्पष्ट पार्न चाहन्छौं ।
हामीले मिति १० मे २०२२ को दिन प्रेस विज्ञप्ति जारी गरे पश्चात मात्र किराया नेपालको केन्द्रीय अध्यक्ष दिवस राईज्यू हामीसँग विभिन्न माध्यमबाट सम्पर्कमा आउन थाल्नु भएको थियो । उहाँको बेलायत आगमन पश्चात हामीले उहाँलाई भटेरै यहाँको अवस्थाबारे पूर्ण अवगत गराएका थियौं र छौं । मिति १६ मे २०२२ मा आयोजना गरिएको सामूहिक चुला पूजामा नजान लाख बिन्ति गरेका थियौं । पछि उहाँले सामूहिक चुला पूजामा नजाने प्रतिवद्धता जनाउनु भएपनि किरात राई हाउस ग्याम्बल्स् लेनमा आयोजना गरिएको चुला सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा जानै पर्छ भन्ने अडान लिनु भयो । हामीले बेलायतबासी वहुभाषिक किरात राईहरुको बढ्दो दवाव महशुस गरी मिति १६ मे २०२२ मा आयोजना गरिएको सामूहिक चुला पूजालगायत त्यस दिनको सबै कार्यक्रम रद्ध गर्न अनुरोध गरयौं । जसले सम्वाद तथा मेलमिलापका लागि वातावरण तयार हुने हाम्रो विश्वास थियो । यदि उहाँले एक दिनको कार्यक्रम रद्ध गर्नु भएको भए हामी उहाँको मध्यस्थतामा जुनसुकै बेला मेलमिलापको लागि संवादमा बस्न तयार भएको स्पष्ट पारेका थियौं । साथै यदि उहाँले उक्त दिनको कार्यक्रम रद्ध नगरे हामीले हाम्रो सशक्त प्रतिरोधको कार्यक्रमलाई जारी राख्ने अडान दोहोरयाएका थियौं । हामीले अनेक कोशिस तथा अनुरोध गर्दा पनि अध्यक्ष दिवस राईज्यूले नूनको सोझो आफू जानै पर्ने तर सामूहिक चुला पूजामा भने आफू सहभागी नहुने अन्तिम अडान राख्नु भयो । हामीले दबाव बढाउदै लगेपछि अन्तमा उहाँले घुमाउरो भाषामा यदि तपाईंहरु मान्नु हुन्न भने तपाईंहरुको कार्यक्रम गर्नुस् भन्दै धम्कीपूर्ण जवाफ दिनुभयो ।
किरात राई यायोक्खा नेपालले बिना आधार किरात राई यायोक्खा बेलायतको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गर्दै संस्थालाई विभाजन गरेको छ जसको मुख्य योजनाकार किराया नेपालका यिनै अध्यक्ष दिवस राई रहेको तथ्यको भण्डाफोर गर्दै किराया बेलायतको घट्नामा अन्तराष्ट्रिय ध्यानाकर्षण गराउन हामीले हाम्रो शान्तिपूर्ण प्रतिकारको कार्यक्रमलाई अघि बढाउने निष्कर्षमा पुग्यौं । अध्यक्ष दिवस राई जसरी पनि किरात राई हाउस ग्याम्बल्स् लेन प्रवेश गर्ने नै भएपछि हामीले किरात राई हाउस ग्याम्बल्स लेनको प्रबेशद्धारमा रोकेर वहाँसँग भेटघाट तथा टेलिफोन सम्वादमा राखिएको अनुरोधलाई पुनः स्मरण गराउने, बाँकी निर्णय उहाँलाई गर्न दिने र किरात राई हाउस प्रवेशमा नरोक्ने हाम्रो कार्यक्रम रहेको बेलायती कानून कार्यान्वयन गर्ने अधिकारीहरुलाई र त्यस दिनको कार्यक्रम आयोजक पक्षलाई पनि स्पष्ट पारेका थियौ । तर एक्कासी, नियोजित तरिकाले अध्यक्ष दिवस राईलाई लुकाएर किरात राई हाउस भित्र छिराइएपछि त्यहाँ उपस्थितजनहरु आक्रोशित बन्न पुग्नुभएको थियो । त्यस दिनको अवस्थाबारे लाइभ प्रसारित भिडियो मार्फत संसार भर पुगिसकेको छ ।
यस घट्नाबाट किराया नेपालका अध्यक्ष दिवस राई बेलायतबासी किरात राईहरुको मेलमिलाप तथा एकताको पक्षमा नरहेको स्पष्ट भएको छ । किराया बेलायतलाई संस्थागत आधिकारिकताको नाममा ठाडो हस्तक्षेप सुरु गर्नु भए पश्चात अहिले पनि अध्यक्ष दिवस राईले कथित आधिकारीकता दिएको पक्षले बोलाएर बेलायत आउनु भएको छ भने निरन्तर उतैको पक्षपोषण गरिरहनु भएको प्रमाणित भएकाले उहाँले अभिभावकत्व गुमाइसकेको निष्कर्षमा हामी पुगेका छौं । तसर्थ किराया नेपालका अध्यक्षदिवस राईको पहल तथा मध्यस्थतामा मेलमिलापका लागि हुने कुनैपनि संवादमा हामी सहभागी नहुने स्पष्ट पार्दछौं । हामीसँग मिल्न चाहानेहरुका लागि संवाद तथा मेलमिलापको ढोका सदा खुल्ला रहेको र यस तर्फ सक्रियता बढाइने पनि हामी सरोकारवाला सबैलाई आश्वस्त पार्न चाहन्छौं ।
हामीले यस्तो कहिल्यै चाहेका थिएनौं । हाम्रो आन्तरिक मामिलामा बिना आधार ठाडो हस्तक्षेप गर्दै कम आकलन गर्ने, वर्चस्व तथा प्राधिकार जमाउने, सम्बन्ध विच्छेद गर्दै विरोधीलाई पेलेरै लाने, दबाउने नीतिको परिणाम हो १६ मे २०२२ को अकल्पनिय घट्ना । यो किरात राई जन्य संस्थाको लागि कालो दिन भएकोले हामी कोही पनि खुशी थिएनौं । रिस आक्रोश घृणाको साथमा भातृत्व करुणा माया सत्भाव रोदन आदिको मिश्रित प्रतिकृया थियो । हामीलाई दुनियामा हाम्रै शीर सरमले झुक्छ भन्ने थाहा थियो किनकि त्यहाँ शत्रु कोहि पनि थिएन । हामी सबै एउटै पूर्खा (बाजे बज्जै) का सन्तान थियौं । एउटै जाति थियौं । तर समुदायमा सामाजिक न्यायका लागि चेतना जगाउंदै ज्ञान निर्माण गर्न एउटा आफ्नै प्रवृत्ति विरुद्ध लड्न अभिसप्त थियौं ।
अध्यक्ष चन्द्रबहादुर राई, महासचिव चन्द्रवती राई
किराया बेलायत