बुधबार, माघ २, २०८१
17:50 | २३:३५

भरतपुरमा एक हजार ७१२ मतले रेनुको अग्रता

रासस मे १८, २०२२

चितवन -भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धन उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि बढेकी छन् । भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले नौ हजार ९७० मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले ८ हजार २५८ मत प्राप्त गर्दा स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ५०४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९५६ र राप्रपाका हिमला गुरुङले ६ हजार ७४२ मत प्राप्त गरेका छन् ।

वडा अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठ विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिष्पर्धी डोलनारायण अधिकारीलाई ६१८ मत अन्तरले पराजित गरेका छन् । श्रेष्ठले दुई हजार ७३५ मत र नेकपा एमालेका अधिकारीले दुई हजार ११७ मत प्राप्त गरेका छन् ।

यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा एमालेका उम्मेदवार निर्वाचित भएका जनाइएको छ । यस वडामा पाँच हजार ५८२ मत खसेको थियो । भरतपुर महानगरपालिकामा हालसम्म २७ हजार ४३८ मतगणना भएको छ ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ ।

इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू