बेलायतको स्थानीय निर्वाचनमा नेपाली मूलका दशमध्ये पाँच उम्मेदवार विजयी, पाँच पराजित
लन्डन । बेलायतमा विहीबार सम्पन्न स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली मूलका उम्मेदवारहरुको नतिजा मिश्रित आएको छ ।
बेलायतभरमा विभिन्न स्थानीय काउन्सिलहरुबाट उम्मेदवार बनेका दश जना नेपाली मूलका उम्मेदवारमध्ये पाँच जना विजयी भएका छन् भने बाँकी पाँच जना पराजित हुन पुगेका छन् ।
निर्वाचित हुने पाँचमध्ये तीन जना काउन्सिलरमा पुनःनिर्वाचित भएका छन् भने दुई जना पहिलोपटक काउन्सिलर निर्वाचित भएका हुन् । त्यस्तै, निर्वाचितमध्ये तीन जना लेबर पार्टीका उम्मेदवार छन् भने अरु दुई सत्तारुढ कञ्जरभेटिभ पार्टीका छन् ।
मेयर गुरुङको ह्याट्रिक
लन्डनको हन्सलो बरोबाट मेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलर निर्वाचित बने ।
लेबर पार्टीबाट उम्मेदवार गुरुङले १ हजार ३७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । सोही वडाकै अर्को काउन्सिलरमा लेबर पार्टीकै उम्मेदवार विजयी भएकी छन्। पराजित सत्तारुढ कञ्जरभेटिभ उम्मेदवारले विजयी गुरुङले भन्दा २ सय ६८ मत कम अर्थात् ७ सय ६९ मत मात्रै पाएका छन् ।
सन् २०१४ मा हन्सलोको हानवर्थ वडाबाट पहिलोपटक काउन्सिलर निर्वाचित भूतपूर्व गोर्खा गुरुङ सन् २०१८ मा दोस्रोपटक निर्वाचित भएका थिए । उनले डेपुटी मेयर र मेयरका रुपमा समेत एकएक कार्यकाल काम गरिसकेका छन् ।
पूर्व उपमेयर लक्ष्य गुरुङ पुनः निर्वाचित
लन्डनको बार्नेट काउन्सिलका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलर निर्वाचित भएका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार गुरुङ १ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन् ।
दुई ठाउँका लागि कुल पाँच जनाको उम्मेदवारी रहेको उक्त वडामा निकै कडा प्रतिस्पर्धाबीच गुरुङ विजयी भएका हुन् । उनीसंग पराजित उम्मेदवारसंग उनको मात्र ४२ मतको फरक छ ।
भूतपूर्व गोर्खा गुरुङ यसअघि सोही बरोको उपमेयर भइसकेका छन् । कञ्जरभेटिभ पार्टीबाट आगामी मेयरका प्रमुख दाबेदार रहेका उनलाई बरोमा लेबर पार्टीको बहुमत आएपछि भने धक्का लागेको छ ।
रोयल बरोमा नेपाली मूलबाट पहिलोपटक रानाभाट निर्वाचित
बेलायतको रोयल बरोबाट पहिलो पटक नेपाली मूलका उम्मेदवार काउन्सिलर निर्वाचित भएका छन् ।
रोयल बरो अफ ग्रीनवीचको प्लमस्टिड एण्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार जीत रानाभाट विजयी भएका हुन्। उक्त वडामा तीन काउन्सिलरका लागि दश उम्मेदवारबीच भएको प्रतिस्पर्धामा रानाभाटसंगै अन्य दुई पनि लेबर पार्टीकै उम्मेदवार विजयी भएका छन् ।
मत परिणामअनुसार रानाभाटले २ हजार तीन सय १९ मतसहित मत प्राप्त गरेका छन् । उनीसंगै विजयी हुने अन्य दुई लेबर उम्मेदवारले २४ सत बढी मत पाएका छन् । पराजित उम्मेद्वारमध्ये एकबाहेक अरु कसैले पनि ५ सय मत पनि कटाएका छैनन् ।
बेलायतमा पछिल्लो केहि वर्षदेखि नै विभिन्न स्थानीय तहमा नेपाली मूलका उम्मेदवारहरु निर्वाचित हुंदै आएका छन् । तर लन्डनभित्रका प्रमुख चार रोयल बरोमा नेपाली मूलबाट निर्वाचित हुने रानाभाट नै पहिलो बनेका छन् ।
बरोमा पुनः निर्वाचित डा शर्मा काउन्टी काउन्सिलमा पराजित
इंग्ल्याण्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलोपटक उठेका डा. जगन्नाथ शर्मा झिनो मतले पराजित भएका छन्।
कन्जरभेटिभ पार्टीका उनी ८ मतले मात्र पराजित भए। उनले ५ सय ५१ मत प्राप्त गरेका थिए । ग्रीन पार्टीका केभिन फोस्टर ५ सय ५९ मतसहित विजयी भएका छन् ।
कोलबर्न टाउनका पूर्व मेयर एवं काउन्सिलर शर्मा दुई तिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलर भने निर्वाचित भए।
बेलायती अर्थमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा उनी कन्जरभेटिभ पार्टीको उपाध्यक्ष छन्। शर्माको चुनावी अभियानमा अर्थमन्त्री सुनाकले प्रचारप्रचारमा सहभागी भएर हौसला प्रदान गरेका थिए ।
नर्थ योर्कसायर इंग्ल्याण्डको ठूलो काउन्टी मानिन्छ । शर्मा काउन्टी काउन्सिलरमा उठ्ने नेपालीमूलबाट पहिलो थिए । अन्य नेपाली काउन्टी भन्दा तल्लो तह बरो काउन्सिलसम्म मात्र पुगेका छन् ।
पूर्व गोर्खा कमल गुरुङ दोब्बर मतसहित निर्वाचित
लन्डनकै बार्नेट काउन्सिलको बन्र्टओक वडाबाट भूतपूर्व गोर्खा कमलबहादुर गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएका छन्। लेबर पार्टीका उम्मेदवार उनले २ हजार सय ७७ मत प्राप्त गर्दै विजय हासिल गरे । सो वडाको अर्को काउन्सिलरमा २ हजार ५ सय ४५ मतसहित लेबर पार्टीकै उम्मेदवार विजयी भए । पराजित कञ्जरभेटिभ पार्टीका दुई उम्मेदवारहरुले भने आधा थोरै ९ सय ६२ र ८ सय ६१ मत मात्रै प्राप्त गरे ।
को को भए पराजित ?
यसपटकको निर्वाचनमा नेपाली मूलका पाँच उम्मेदवार भने पराजित बनेका छन्। वकिङ बरोमा पूर्व गोर्खा मेजर चित्रबहादुर राना पराजित भएका छन् । कञ्जरभेटिभ पार्टीबाट यसअघि तीन पटक काउन्सिलर निर्वाचित उनी चौंथो पटक असफल बनेका हुन् ।
रानालाई पराजित गर्ने लिबेरल डेमोक्र्याट उम्मेद्वारले दोब्बर बढी मत पाए । सन् २०१५ मा पहिलोपटक काउन्सिलरमा निर्वाचित उनी सन् २०१६ र सन् २०१८ मा पनि काउन्सिलर निर्वाचित भएका थिए ।
रश्मोर बरोको चेरीउड वडामा कञ्जरभेटिभ पार्टीबाट पहिलोपटक उम्मेदवार बनेकी सुमन पुन ७ सय ३० मत ल्याएर पराजित भइन्। उनका प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले १ हजार ८ मतसहित विजयी भए।
त्यस्तै, बेडवर्थ एण्ड ननिटन बरोमा पहिलो पटक काउन्सिलर पदमा निर्वाचन लडेका पूर्व गोर्खा भीम सारु पनि पराजित भए । लेबर पार्टीका उम्मेदवार सारुले ५ सय ६६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कञ्जरभेटिभ पार्टीका उम्मेदवार ६ सय ५२ मतसहित निर्वाचित भए।
उता, स्वीण्डनको मेनिंगटन एण्ड वेस्टर्नमा पहिलोपटक उम्मेदवार बनेका पूर्व गोर्खा ज्ञानप्रसाद गुरुङ पनि जीतबाट चुकेका छन् । कञ्जरभेटिभ पार्टीका उम्मेदवार गुरुङले ६ सय ६५ मत पाउंदा विजयी लेबर पार्टीका उम्मेदवारले १३ सय ६४ मत पाए ।
लन्डनको वाटफोर्डमा सञ्जय पन्त काउन्सिलरमा पराजित भएका छन्। वाटफोर्ड बरोको होलीवेल वडामा कञ्जरभेटिभ पार्टीबाट पहिलोपटक उम्मेदवार बनेका पन्त ४ सय २६ मत प्राप्त गरी पराजित भएका हुन् । विजयी लेबर उम्मेदवारले ९ सय ४९ मत प्राप्त गरेका छन् ।
यो पनि पढौं : बेलायतको रोयल बरोमा नेपाली मूलबाट पहिलो काउन्सिलर निर्वाचित भए रानाभाट
यो पनि पढौं : बेलायतको काउन्टी काउन्सिलमा ८ मतले पराजित भए शर्मा, टाउन काउन्सिलर भने निर्वाचित
यो पनि पढौं : पूर्व उपमेयर लक्ष्य गुरुङ दोस्रो पटक काउन्सिलर निर्वाचित