बेलायतको काउन्टी काउन्सिलमा ८ मतले पराजित भए शर्मा, टाउन काउन्सिलर भने निर्वाचित
लण्डन । इंग्ल्याण्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलोपटक उठेका डा. जगन्नाथ शर्मा झिनो मतले पराजित भएका छन् ।
कन्जरभेटिभ पार्टीका उनी ८ मतले मात्र पराजित भए । उनले ५५१ मत प्राप्त गरेका थिए । ग्रीन पार्टीका केभिन फोस्टर ५५९ मतसहित विजयी भएका छन् ।
कोलबर्न टाउनका पूर्व मेयर एवं काउन्सिलर शर्मा दुई तिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलर भने निर्वाचित भए ।
बेलायती अर्थमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा उनी कन्जरभेटिभ पार्टीको उपाध्यक्ष छन् । शर्माको चुनावी अभियानमा अर्थमन्त्री सुनाकले प्रचारप्रचारमा सहभागी भएर हौसला प्रदान गरेका थिए ।
नर्थ योर्कसायर इंग्ल्याण्डको ठूलो काउन्टी मानिन्छ । शर्मा काउन्टी काउन्सिलरमा उठ्ने नेपालीमूलबाट पहिलो थिए । अन्य नेपाली काउन्टी भन्दा तल्लो तह बरो काउन्सिलसम्म मात्र उम्मेदवार छन् ।
डा. शर्माले यसपटक पूर्ण सफलता प्राप्त नगरे पनि उम्मेदवार छनोट अघि वाचा गरेको सार्वजनिक यातायात सेवामा सुधार, काउन्सिल ट्याक्स घटाउने, नयां जागिर र व्यवसाय सृजना, स्वास्थ्य सेवा सुधार, भूतपूर्व गोर्खाको समान पेन्सन मुद्दामा सहयोग, बेलायत र नेपाल सरकार तथा जनता जनताबीच सुमधुर सम्वन्ध विस्तार, सुरक्षित सडक, कन्जरभेटिभ पार्टीको नीति तथा विचार प्रवर्धन एवं बहुसांस्कृतिक काउन्टी बनाउने प्रतिवद्धता दोहोरयाए ।
डा. शर्माको पृष्ठभूमि
रोयल आर्मी मेडिकल कोर्पस्मा रिजर्भड आर्मी अफिसर समेत रहेका शर्मा सन् २०१२ देखि काउन्सिलर र कोर्लबर्न टाउनको डेपुटी मेयर तथा मेयर भइसकेका छन् ।
पर्वत बिहादी रानीपानीका शर्मा बेलायती रक्षा मन्त्रालयअन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिटेन्डेन्ट पनि हुन् ।
सन् २००१ मा बेलायत आएका शर्मा सन् २००३ देखि बेलायती रक्षा मन्त्रालयको जागिरमा प्रवेश गरेका थिए ।
स्पोर्टस् मेडिसिनमा विद्यावारिधि गरेका डा. शर्मा जनस्वास्थ्य तथा संक्रामक रोग विशेषज्ञ पनि हुन् । उनका स्वास्थ्यसम्बन्धी कैयौं जर्नल प्रकाशित छन् ।
रक्षा मन्त्रालय प्रवेश गर्नुअघि सन् २००१ देखि २००३ सम्म उनी नेशनल हेल्थ सर्भिस् (एनएचएस) मा पनि जागिरे थिए ।
शर्मा बेलायतभित्र तथा बाहिरी मुलुकमा आपतकालीन स्वास्थ्य सम्बन्धि सहायता तथा तालिम प्रदान गर्ने ‘इमर्जेन्सी हयूमेनिटेरियन मेडिकल टिम’ मा पनि सदस्य छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५