बिहीबार, माघ ३, २०८१
22:32 | ०४:१७

प्रेस स्वतन्त्रता हननका ७५ घटना, तीन सय बढी उजुरी

रासस मे ३, २०२२
काठमाडौं । बितेको एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना भएका छन् । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाइको तथ्यांकअनुसार यसवर्ष पत्रकारको पेशागत सुरक्षाको अभाव जनाउँदै ३०० भन्दा बढी उजुरी परेका छन् ।
प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी घटना बागमती प्रदेशमा ५४ वटा घटना भएको अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । १ नं प्रदेश र मधेस प्रदेशमा बराबरी अर्थात ६–६ वटा हननका घटना भएका छन् ।
त्यस्तै कर्णाली प्रदेशमा ५ र लुम्बिनी तथा गण्डकीमा २–२ वटा घटना भएका छन् । सुदूरपश्चिम प्रदेशमा भने यो पटक हननका घटना भएको पाइएको छैन ।
प्रेस स्वतन्त्रता हननका यी ७५ वटा घटना हुंदा २७२ सञ्चारकर्मी, ९ सञ्चारगृह र ३३ महिला पीडित भएको पोखरेलले बताए । “अघिल्लो वर्ष महासङ्घको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका ४५ घटना थिए भने ती घटनाबाट जम्मा ५८४ पत्रकार र तीन सञ्चार संस्था पीडित बनेका थिए, ५८४ पत्रकारमध्ये ७७ पत्रकार महिला थिए”, उनले भने ।
महासंघको अभिलेखअनुसार यो वर्ष तीन पत्रकार गिरफ्तारीमा परेका छन् भने आक्रमण, दुव्र्यवहार र धम्कीबाट २९ जना पत्रकार पीडित भएका छन् । त्यस्तै पेशागत असुरक्षाको पीडा ३१ पत्रकारले खेप्दैछन् । कानुन बनाएर प्रेस स्वतन्त्रतालाई संकुचन गर्न खोज्ने काम तीन पटक भएको छ ।
उल्लिखित तथ्यांकका आधारमा नेपाली प्रेस अझै पनि पेशागत र भौतिक सुरक्षाका सवालमा सन्तोष गर्न सकिने अवस्थामा नभएको महासंघको भनाइ छ ।
पत्रकार महासंघले तीन तहका सरकारले निर्माण गर्ने प्रेससँग सम्बन्धित कानून प्रेसमैत्री हुनुपर्ने माग गर्दै आएको छ । भर्खरै संशोधन गरिएको प्रसारण नियमावलीका प्रावधान सच्याउनुपर्ने महासंघको माग छ ।
नागरिकको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउन प्रेस स्वतन्त्रता अनिवार्य हुने अध्यक्ष पोखरेलको भनाइ छ । “प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अंग पनि हो, नेपालको संविधानको प्रस्तावमै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भए तापनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्न सकेको छैन”-उनले भने ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू