आइतबार, मंसिर ९, २०८१
08:23 | १४:०८

खाली दिमाग

उमेश रेग्मी मे ३, २०२२

लेखक उमेश रेग्मी

खाली दिमागमा पनि कस्तो कस्तो कुरा आउने ।  हिजो अकस्मात अमेरिका घुम्न पुगेछु म। फेरि खाली दिमागलाई  शैतानको घर पनि भन्छन् त्यसैले होला अमेरिका पुग्ने बित्तिकै राम्रा कुरालाई एकातिर थन्क्याएर म पुगेछु एउटा आधुनिक भट्टीघर तिर। त्यता तिर ‘पब’ भन्दा रहेछन् । तर आफू परियो खाँटी पहाडिया नेपाली, आफूलाई त त्यो ‘पब’ भन्ने ठाउँ हाम्रो पहाडको भट्टी घर भन्दा केहि फरक लागेन। त्यहाँ पनि जाँड धोक्ने र बहुलाउने अनि हाम्रो भट्टीमा पनि जाँड धोक्ने र बहुलाउने। फरक चाहिं के भने पहाडमा साहुनीको तिघ्रा चिमोटदै जाँडको स्वाद लिन पाइन्थ्यो, उता अमेरिकामा चाहिं तिघ्रामा मात्र सिमित हुन नपर्ने रहेछ। बिकशित मुलुकको बिकशित चाला भन्नु परयो अब।

त्यो पब भन्ने ठाउँबाट बहुलाएर बाहिर निस्केको मात्र थिएं एउटा मित्र भेट भयो अनि उसैको लहै लहैमा एउटा ‘क्यासिनो’ भन्ने ठाउँ पुगियो। ठ्याक्कै हाम्रो गाउँमा काजीबाको घरमा खेलिने जुवा चल्ने रहेछ त्यहाँ पनि। तर थरि थरिका। अनि बडो गजब तरिकाले जित हार पनि छुट्टिने रहेछ। काजीबाको घरमा सुन्तलीले आफ्नै घरको भन्दै कोदोको तीनपाने लेराउँथी तर त्यो क्यासिनो भन्ने ठाउँमा त लेराउने पनि कस्तो गजबको अनि ल्याएको चिज पनि कस्तो गजबको। त्यस्ता नजारा देख्न पाएपछि दिमागले शैतानी रुप धारण नगरेर के सन्यासी रुप धारण गरोस त ? लौ तपाईहरु नै भन्नुहोस् । 

दिमागले खयाली पुलाउ पकाउन थालेको त पक्कै पनि तपाईहरुले अनुमान गर्नु भइ सक्यो होला। कहिले कहिँ त बडा आनन्द आउने बुझ्नु भयो। यथार्थमा गर्न नपाएका कुराहरु यस्तै पुलाउ पकाई पकाई खान पाउँदा त्यसको स्वादको के कुरा गर्नु। कति मिठो कति, शब्दमा बर्णन गर्न पनि गाह्रो लाग्छ मलाई। बरु यहाँहरुले कहिले चाख्न पाउनु भएको छ कि छैन ? पाउनु भएको छैन भने, तुरुन्त पकाएर चाखी हाल्नुस है, फेरि मैले कहिले सुझाब दीइन भनेर नभन्नु होला। यति ग्यारेन्टी दिन्छु म, एक चोटी त्यो पुलाउ चाखे पछि तपाईलाई l फेरि फेरि खाइरहन मन लाग्छ। ढुक्क हुनुस् सद्दे कुरा, राम्रा कुरा चाहिं पाक्ने मौका पाउने छैनन् । त्यो दिमागको खाली भाँडोमा शैतानले खै के हालीदिएको हो, खाली उटपट्याङ कुराहरु मात्रै पाइँदो रहेछ। त्यहि कुराहरु मिसाएर त्यो खयाली पुलाउ पकाउँदा, स्वाद त गज्जब मिठो हुने। भान्छामा बुढीले पकाएको पुलाउ त धेरै खल्लो त्यसको तुलनामा।

तपाईहरुलाई लाग्दै होला, यसले के कुरा गरिरहेको भनेर तर बिश्वास गर्नुस यि सबै कुराहरु त्यहि खाली दिमागको उपज हो। खाली भाँडोमा केहि त भर्नु परयो हैन त ? खाली नै राखी राख्यो भने त्यो भाँडोको के काम ?

त्यहि भाँडो भर्ने क्रममा अमेरिका पुगेको म क्यासिनो भन्ने ठाउँबाट निस्के पछि मित्रसंग उसको घर जान भनेर दुवै ढुनमुनिदै हिड्न थाल्यौ। मित्रको हालत मेरो भन्दा पनि खराब भएको कुरा उसको बोलाइ र हिडाई दुबैमा प्रष्ट देखिन्थ्यो। शायद धेरै पिएछन् । म चाहिं भट्टी पसलकी साहुनीको तिघ्रो चिमोट्न नपाएकोले होला पिउने भन्दा पनि ति गोरीहरुको हाउभाउमानै बढि भुलेछु। मित्र त अमेरिकामा नै बस्ने मान्छे त्यसैले उनलाई त्यस्ता हाउभाउले केहि असर गरेन तर आफू त खाली दिमागमा पुलाउ पकाउँदै त्यहाँ सम्म पुगेको, केहि त चाख्नै परयो, त्यसैले होला सुकेको घांटीलाई पिएर आनन्द दिनु भन्दा चंचल भएका ति हातहरुलाई आनन्द दिन पुगेछु ति गोरीहरुको साथमा।

“हाम्रा गाउँका तरुनीहरु पनि यि गोरीहरु जस्तै भएको भए कत्ति रमाइलो हुन्थ्यो होला हगि मित्र ?”, उत्तेजित हुँदै सोध्न पुगेछु मैले। उत्तरमा मित्रले केहि बडबडाएका थिए तर बेस्सरी धोकेपछी धुन्मुनिएको शरिर र लर्बरिएको स्वरमा के बडबडाए पत्तो लाउन सकिन मैले। उही खयाली पुलाउ पकाउने बाहेक के विकल्प थियो र म संग। गाउँका सबै ठिटीहरु, गोरीहरुको पहिरनमा देखिन थाले आँखा अगाडी अनायाशै। अमेरिकाको सडकमा अल्मलिरहेको म अचानक गाउँको भिरमा टाँसिन आइपुगेछु।

पारिलो घाम, वरिपरि हरियाली अनि खोला र झरनाको छमछम संगीतमा चरा चुरुङ्गिको मिठो गीत सुन्दै शितल हावाले सुस्तरी गालामा सुम्सुम्याउंदा बडो रोमान्चित भएछु म। संगै रहेकी सुन्तलीसंग हातमा हात राखी उसको मुहार हेर्दा, लाग्यो ति अमेरिकन गोरिनी भन्दा पनि बिछट्टै राम्री पो देखिएकी थिइ त मोरी। सुन्तलीको सागर रुपी आँखामा म डुबिरहेको थिएं, कतिखेर किनारा लागि सकिएछ पत्तै भएन।

त्यतिखेर होस आयो जब आफ्नो अगाडि आफ्नै बुढी ठिङ्ग उभिरहेकी देखें । ठाउँ ठाउँमा टालेको धोती, मैलो चोलो, लट्टा परेको कपाल अनि फुङ्ग उडेको अनुहार, आफ्नो वास्तविकतामा फर्किंदा भक्कानो फुट्ला झैँ भएको थियो। अचानक म संग मेरो खयाली पुलाउ खोसिएको थियो। मेरो दिमागी स्वतन्त्रता छिनिएको थियो।

एकैछिन भएपनि रमाएको मेरो मनलाई ढुङ्गै ढुङ्गाले रक्ताम्मे हुने गरि पिटिएको जस्तो भयो। मलाई यथार्थसंग फेरी साक्ष्यतकार गराइएको थियो। मेरो खयाली पुलाउ पकाउने सुन्दर कलालाई बिश्राम लगाइएको थियो। मेरो आँखा रसाए छन् मलाइ सोध्दै नसोधी। उनले भनिन र थाहा भयो, “के भयो हजुरलाई ? किन टोलाई बसेको ?”

अब कसरी भन्नु खयाली पुलाउ पकाउँदै जाँदा अमेरिकन गोरीनीहरुको तिघ्रा समात्न पुगिएछ भनेर अनि कसरी भन्नु रक्सिको शुरमा क्यासिनोमा के के उपद्रो गरियो भनेर। खयाली पुलाउ पचाउन पनि गाह्रो हुने अनुभव बटुलें मैले त्यो बेला ।

तपाईंहरुको पनि कुनै यस्तै अनुभव पो छ कि? मलाई जान्ने तिव्र अभिलाषा भएको जानकारीसहित मेरो यो कहानी चाहिं  यही टुङ्ग्याये है त । –लण्डन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू