बेलायती संसदभित्रै ‘पोर्न’ हेर्ने सांसदले गरे राजीनामा
लन्डन-बेलायतका एक सांसदले संसद भवनभित्रै पोर्न भिडियो हेरेको आरोप स्वीकार गर्दै राजीनामा गरेका छन् ।
बेलायतको ‘टिभरटन एन्ड हनिटन’ निर्वाचन क्षेत्रबाट हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने सांसद नील पेरिसले शनिबार राजीनामा गरेका हुन्।
यसअघि सांसद पेरिसले संसदभित्रै पोर्न भिडियो हेरेको आरोप लगाउँदै उनका दुई महिला सहकर्मीहरुले उजुरी गरेका थिए । आफूमाथिको आरोप स्वीकार गर्दै उनले दुई पटकसम्म अश्लील सामग्री हेरेको स्वीकार गरेका थिए ।
पहिलोपटक मोबाइलमा अन्य वेबसाइट भिजिट गर्ने क्रममा संयोगले पोर्नसाइटमा पुगेको बताएका पेरिसले दोस्रोपटक भने नियतपूर्वक नै हेरेको स्वीकारेका छन् । पछिल्लो १२ वर्षदेखि लगातार सांसद रहेका उनले आफूले ‘पागलपन’ मा गल्ती गरेको बताएका छन् ।
६५ वर्षीय पेरिस विवाहित हुन्। उनका श्रीमती र दुई सन्तान छन्।
सांसद पेरिसमथि पोर्नसम्बन्धि आरोप लागेपछि कञ्जरभेटिभ पार्टीले शुक्रबार नै उनलाई निलम्बन गरेको थियो । शुरुमा आफ्नो गल्तीका लागि क्षमायाचना गरेपनि राजीनामा नगर्ने अडान राखेका उनीमाथि दबाब बढेपछि शनिबार राजीनामा घोषणा गरेका हुन् ।
बीबीसीसंगको अन्तर्वातामा पेरिसले आफ्नो मूर्ख गल्तीका लागि आफ्नो निर्वाचन क्षेत्रका जनता, मतदाता तथा पार्टीका समर्थक एवम् सहकर्मीहरुसँग माफी मागेका थिए।