बिहीबार, माघ ३, २०८१
05:31 | ११:१६

युक्रेनसँग वार्ता अगाडि बढाउन रुस सहमत

रासस/सिन्ह्वा अप्रिल २७, २०२२

रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभ (दायां) संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि पत्रकार सम्मेलनमा । तस्बिर- एपी

मस्को, १४ बैशाख– रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाएका छन् ।

रुस भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उनले वार्ताका लागि रुस तयार रहेको जानकारी दिएका हुन् ।

भेटवार्तापछि दुवै जनाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले युक्रेनसँगको वार्तालाई फेरि अगाडि बढाउने बारेमा सहमति भएको बताए ।

युक्रेनसँगको रुसको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनले स्पष्ट पारे ।

उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटक पटक वार्ताहरू पनि भएको तर युक्रेनकै कारणले वार्ता सफल हुन नसकेको दावी गरे ।

आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको थियो । त्यसपछि पनि पटक पटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेका थिएनन् । तर पछिल्लो समयमा वार्ता नै अवरुद्ध भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको दुई महिना पुरा हुँदासम्म पनि युद्ध अन्त्यका लागि ठोस संकट नदेखिएपछि राष्ट्रसंघीय महासचिव रुस आएका हुन् । उनले यसपछि युक्रेनको भ्रमण गर्ने तालिका छ ।

युक्रेन प्रस्थान गर्नुअघि रुसमा आयोजित पत्रकार सम्मेलनमा गुटेर्रेसले भने, “म शान्ति प्रक्रियालाई अगाडि बढाउन मस्कोमा आएको हुँ, चाँडै नै शान्ति प्रक्रिया अगाडि बढ्ने विश्वास गरेको छु ।”

रुसी विदेशमन्त्री लाभ्रोभसँगको वार्ता अत्यन्त सकारात्मक र उपलब्धिमूलक भएको पनि उनले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू