सोमबार, असोज १४, २०८१
17:29 | २२:१४

शिव मन्दिर अल्डरसटको सहयोगार्थ १५ हजार पाउण्ड बढी संकलन

नेपाली लिङ्क अप्रिल २७, २०२२

तस्विर: मिलन तमु

लण्डन । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटले शिव मन्दिरको स्तरवृद्धि तथा 
सञ्चालनका लागि ‘च्यारिटी दिनर नाइट’ गरेको छ ।

अल्डरसटस्थित एम्पायर हलमा आइतबार सम्पन्न उक्त कार्यक्रमबाट करिब १५ हजार पाउण्ड आर्थिक संकलन भएको र उठ्नेक्रम जारी रहेको कोषाध्यक्ष निरज शर्माले जानकारी दिए ।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको कार्यसमिति, प्याट्रोन र ट्रष्टी समेतको आयोजनामा च्यारिटी डिनर नाइट गरिएको हो । संरक्षक पुरण गिरी कार्यक्रम संयोजक थिए ।

शिव मन्दिरका अध्यक्ष बाचस्पति रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ आइसीसी अध्यक्ष कुल आचार्य प्रमुख अतिथि र अर्को समूहका एनआरएनए आइसीसी उपाध्यक्ष थरका सेन विशेष अतिथि थिए ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिले बेलायतमा रहेका नेपालीहरुलाई धार्मिक आस्थाका रुपमा एकताबद्ध गर्दै मन्दिर स्थापना गरि सह्रानीय काम गरेकामा प्रमुख अतिथि आचार्यले प्रशंसा गरे । रसमोर बरो काउन्सिलका काउन्सिल लिडर डेभिड क्लीफोर्डले पनि कार्यक्रमको प्रशंसा गर्दै शुभकामना दिएका थिए ।

श्रद्धालु भक्तजन र विभिन्न दाताहरुको सहयोगमा आफ्नै भवन खरिद गरेर सञ्चालित उक्त मन्दिरलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आर्थिक सहयोग जुटाउन च्यारिटी डिनर नाइट आयोजना गरिएको पूर्व डिएसपी एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।

कार्यक्रममा शिव मन्दिर स्थापनाको परिकल्पनादेखि निर्माण हुँदासम्मको अवस्था भिडियोमार्फत देखाइएको थियो । बेलायतवासी नेपालीहरुको धरोहरको रुपमा स्थापित शिव मन्दिरको सहयोगार्थ स्थानीय नेपालीहरुले खुलेर सहयोग गरेका थिए ।

बेलायतवासी नेपालीहरुले सन् २००७ देखि पूजाआजा र विभिन्न समयमा महायज्ञ सञ्चालन गरी सहयोग सकंलन गरि मन्दिरका लागि भवन खरिद गरिएको थियो ।

मन्दिरमा चतुर्मुखी शिवलिंग समेतको मूर्तिहरु स्थापना गरी सन् २०२१ को विजया दशमीको अवसरमा प्राणप्रतिष्ठा गरि सुचारु गरिएको हो । कोरोना संक्रमणका कारण विभिन्न स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरि सञ्चालन हुँदै आएको शिव मन्दिरमा दुर्गा पूजा, शिवरात्री पूजा, होली लगायत विवाह र ब्रतबन्ध समेत हुंदै आएको छ ।

नेपाली समुदायको पहलमा मन्दिर स्थापना भएको र यसको संरक्षण र स्तरोन्नति लगायत व्यवस्थापन गर्ने जिम्मेवारी पनि नेपाली समुदायकै रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरु लोकदोहोरी गायिका तुलसी क्षेत्री र गायक कृष्ण अकेलीले सांगीतिक प्रस्तुति दिएका थिए । त्यस्तै स्थानीय सयपत्री क्लबले नृत्य गरेको थियो भने सपन इन्टरटेन्मेन्टका डाइरेक्टर गायक सपन कुमार राईले पनि विभिन्न गीतसंगीतद्वारा मनोरञ्जन गराएका थिए ।

कार्यक्रममा काउन्सिलर जीव बेलबासे, काउन्सिलर प्रवेश केसी लगायत कम्युनिटीका सहसचिव हरि भट्टराई, कोषाध्यक्ष निरज शर्मा, गंगा रेग्मी, बिमला पौडेल भट्टराई, राधा शर्माले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । सो अवसरमा शिव मन्दिरका संरक्षक एवं तमुधि यूके अध्यक्ष हितकाजी गुरुङ, संरक्षक एवं एनआरएन यूके प्रमुख संरक्षक शेरबहादुर सुनार, संरक्षक डा. विनोद कुमारका साथै विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।

क्वोने घोताने कोण्डे गुरुङ यूके समाजका अध्यक्ष पिताम्बर गुरुङ एवं पदाधिकारीहरु, तमुधि यूके पूर्व अध्यक्षहरु रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, उपाध्यक्षहरु हरि गुरुङ, जुमकाजी गुरुङ, बगरभाइखलक यूके अध्यक्ष डिलरास गुरुङ, ग्रेटर रसमोर नेपाली कम्युनिटी अध्यक्ष मानप्रसाद गुरुङ, पूर्व अध्यक्ष ओम काउचा थापा, पर्वत समाज यूके अध्यक्ष नेत्र आले लगायत समाजसेवीहरु पनि च्यारिटी नाइटमा उपस्थित थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विक्रम भट्टाराई र संरक्षक एवं पूर्व अध्यक्ष सुनित जैनले स्वागत मन्तव्य कार्यक्रम उद्घोषण संरक्षक एवं पूर्व अध्यक्ष रोहित गुरुङ र ट्रष्टी सुष्मा गुरुङले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू