बिहीबार, माघ ३, २०८१
05:22 | ११:०७

म्यान्मार नेत्री सुकीलाई थप पाँच वर्ष जेल सजाय

रासस-एएफपी अप्रिल २७, २०२२

याङ्गुन – म्यानमारको जुन्ता अदालतले बुधबार आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा पार्न सक्ने संकेत देखाएको छ ।

पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुकीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोप लगाइएको थियो । दुई दिनपछि सेनाद्वारा निर्मित राजधानी नेपिदको विशेष अदालतले बुधबार बिहान ९:३० बजे फैसला र सजाय सुनाएको हो । सुकीका वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो ।

सैन्य शासनको अधिनमा रहेको म्यान्मारको विशेष अदालतले गोप्य सुनुवाइपछि नेत्री सुकीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।
सन् २०२१ फेब्रुअरीमा भएको सैन्य ‘कू’ मा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता सुकीलाई सैन्य हिरासतमा राखिएको छ ।

सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ । उनले सबै आरोपहरु अस्वीकार गरेकी छन् भने मानवअधिकारकर्मीहरुले पनि अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँदै आएका छन् ।

उनलाई पाँच वर्षको थप जेल सजाय तोकिएपछि जेल बस्नुपर्ने कुल समय ११ वर्ष पुगेको जनाइएको छ । गत डिसेम्बरमा उनलाई कोभिडसम्बन्धी स्वास्थ्यका नियम तोडेको र जनवरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू