एनआरएनए नर्दन आयरल्यान्डमा पाँच सल्लाहकार मनोनित
लन्डन। एनआरएनए यूकेको राज्य समन्वय परिषद नर्दन आयरल्यान्डले आफ्ना सल्लाहकार मनोनित गरेको छ।
सोमबार परिषदका अध्यक्ष बलबहादुर थापाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पाँच जनालाई सल्लाहकार मनोनित गरेको हो।
परिषदमा मनोनित सल्लाहकारमा नारायण कुँवर, लक्ष्मण चिमरिया, लीलाराम निउरे, शान्ता कंडेल र गोमा खड्का छन्।
नवमनोनित सल्लाहकारहरुलाई परिषदको आगामी बैठकमा निम्त्याएर स्वागत गर्ने र संस्थालाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरिने परिषदले जनाएको छ।
परिषदका अध्यक्ष थापाले नर्दन आयरल्याण्डमा एनआरएनए अभियान र स्थानीय नेपाली समुदायको हितमा महत्वपूर्ण योगदान गरेका व्यक्तित्वहरुलाई सल्लाहकार मनोनित गरिएको बताए। ‘उहाँहरुको मार्गदर्शनमा अब हाम्रो अभियान थप प्रभावकारी र मजबुद भएर अघि बढ्ने आशा हामीले गरेका छौं’, उनले भने।
परिषदले अध्ययनका लागि नर्दन आयरल्याण्डमा आएका नेपाली विद्यार्थीहरुसँग एक अन्तरक्रिया गर्ने भएको छ । नर्दन आयरल्याण्डमा अध्ययनरत नेपाली विद्यार्थीका समस्याहरु बुझ्ने र सक्दो सहयोग तथा सल्लाह उपलब्ध गराउने उद्धेश्यले आगामी मे ८ मा कार्यक्रम गर्ने निर्णय गरिएको छ।
परिषदका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष छमबहादुर रेग्मी, सचिव विष्णुबहादुर क्षेत्री, सहसचिव प्रेम खत्री, कोषाध्यक्ष रामु खड्का र सदस्यहरु दिलिप आचार्य र भूमिश्वर सापकोटाको सहभागिता थियो ।