गुरुङ समाज स्वीन्डनमा नयाँ नेतृत्व, तीजु गुरुङ बनिन् अध्यक्ष
स्वीन्डन। गुरुङ समाज स्वीन्डनले नयाँ नेतृत्व पाएको छ। स्वीन्डनको रोयल ब्रिटिश लिजन क्लबमा आइतबार सम्पन्न समाजको दशौं साधारणसभा तथा पाँचौ अधिवेशनले तीजु गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समाजकै संस्थापक आमा समूह प्रमुख तीजु गुरुङलाई अध्यक्षमा निर्वाचित गरिएको हो।
यसअघि समाजका निवर्तमान अध्यक्ष सेतु गुरुङको अध्यक्षता तथा निवर्तमान उपाध्यक्ष हेम गुरुङको सञ्चालनमा साधारणसभा सम्पन्न भएको थियो ।
कार्यक्रमको पहिलो सत्रमा समाजको आर्थिक विवरण निवर्तमान कोषाध्यक्ष याम गुरुङले प्रस्तुत गरेका थिए भने निवर्तमान अध्यक्ष सेतु गुरुङले यस वर्ष समाजले सम्पन्न गरेका विभिन्न क्रियाकलापबारे जानकारी गराएका थिए।
त्यस्तै, विधान संशोधनका लागि पनि सल्लाहकार क्याप्टेन इमान गुरुङले प्रस्ताव पेश गरेका थिए । प्रस्तुत सबै प्रस्ताव तथा प्रतिवेदनहरुमा साधारणसभामामा छलफल तथा समिक्षा गरिएको थियो ।
अधिवेशनको दोस्रो सत्रमा समाजको पाँचौ कार्यसमिति निर्वाचित गरिएको थियो। सोही अवसरमा समाजको आमा समूहको पनि तेस्रो कार्यसमिति चयन गरिएको थियो ।
बिएफबिएस गोरखा रेडियोका पूर्व महाप्रभन्धक खेम गुरुङ प्रमुख निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमिति गठन गरेको थियो जसअनुसार अध्यक्षमा तीजु गुरुङसंगै उपाध्यक्षमा क्याप्टेन पिताम्बर गुरुङ, महिला उपाध्यक्षमा लिला गुरुङ, महासचिवमा भीम (महेन्द्र) गुरुङ, सहायक महासचिवमा देवकुमार गुरुङ, कोषाध्यक्षमा यामकुमार गुरुङ तथा सह-कोषाध्यक्षमा खगेन्द्र गुरुङ छन् ।
समितिमा बेलायतका विभिन्न क्षेत्रहरुबाट क्षेत्रीय प्रतिनिधिहरु पनि चयन गरिएको छ। जसमा भरत गुरुङ एबेमीड तथा ट्याड्पोल भिल्लेज गार्डन, यामराज गुरुङ पार्क नोर्थ, मान सिंह गुरुङ पार्क साउथ, धनबहादुर गुरुङ गोर्स हिल छन्।
त्यस्तै, समाजको संचार संयोजकमा हरिसूर्य गुरुङ, मनोरन्जन तथा साँस्कृतिक संयोजकमा दिपेश गुरुङ, खाना व्यवस्थापनमा लोकमान गुरुङ र जिन्सी व्यवस्थापनमा कृष्ण गुरुङलाई जिम्मा दिइएको छ ।
त्यसैगरी, अधिवेशनले समाजको आमा समूहको अध्यक्षमा जया गुरुङ, उपाध्यक्षमा लक्ष्मी गुरुङ, महासचिवमा पिना गुरुङ, उपसचिवमा कुनुमाया गुरुङ, कोषाध्यक्षमा सखी गुरुङ र सहकोषाध्यक्षमा लालु गुरुङलाई निर्वाचित गरेको छ। नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन आयुक्तले शपथ ग्रहण गराएका थिए ।
समाजका निवर्तमान अध्यक्ष सेतु गुरुङ र निवर्तमान आमा प्रमुख मीना गुरुङले पुष्पगुच्छा र खादाले बधाइ दिएका थिए। नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष हुनेछ।
यूकेका अन्य सामाजिक संस्थाहरु जस्तै तमु समाज स्वीन्डनले पनि विभिन्न सामाजिक परोपकारका कामहरु गर्दै आइरहेको छ ।