बिहीबार, माघ ३, २०८१
05:32 | ११:१७

विश्वकै जेष्ठ नागरिक ताकानाको ११९ वर्षमा निधन 

रासस-एएफपी अप्रिल २५, २०२२

फोटो गिनिज वर्ल्ड रेकर्ड

टोकियो १२ बैशाख- विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो ।

उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोवेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोवेल पुरस्कार प्राप्त गरेकी थिइन् ।

उनी जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा बस्दै आएकी थिइन् । उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरुले बताउंदै आएका थिए । उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।

नसिङ होममा रहँदा उनी बोर्ड गेम्स खेल र हिसावका प्रश्नोत्तर लेख्दै बस्ने गर्थिन् । त्यसैगरी सोडा र चकलेटहरु खाने गर्थिन् । उनी बयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसायहरु चलाएकी थिइन् ।

उनले ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ बर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गरेकी थिइन् । उनले चार सन्तान जन्माएकी थिइन् ।

खेलकुँदमा निकै रुची राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर गरेकी थिइन् तर कोरोना भाइरस महामारीका कारण उनलाई खेल मैदान लगिएको थिएन ।

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उनले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुशीको क्षण भएको बताएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू