गोर्खाली समाज यूकेमा नयां नेतृत्व, अशोक ढकाल सर्वसम्मत अध्यक्ष
लन्डन । गोर्खाली समाज यूकेमा नयां नेतृत्व चयन भएको छ । शनिबार लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवमा सम्पन्न समाजको आठौं अधिवेशनले अशोक ढकालको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो । ढकाल यसअघि तीन पटक महासचिव भइसकेका थिए ।
अध्यक्षका अर्का दावेदार हेमकुमार गुरुङ अन्तिममा ढकाललाई नै जिम्मेवारी सुम्पन राजी भएपछि निर्वाचनमा जानु परेन ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा हेमकुमार गुरुङ, महिला उपाध्यक्षहरु टकमाया गुरुङ र माया गुरुङ मिचेल एवं कोषाध्यक्षमा सागर ढकाललाई सर्वसम्मत निर्वाचित गरेको छ । बांकी सदस्यहरु समाजको पहिलो बैठकले मनोनयन गरि कार्यसमितिलाई पूर्णता दिइनेछ ।
प्रमुख निर्वाचन आयुक्त भरत रोकाले नयां कार्यसमिति घोषणा गरेका थिए । निर्वाचन समितिमा विष्णु तामाङ, सुरबहादुर घले, शकुन्तला गुरुङ र जगत थापा आयुक्त थिए ।
नवनिर्वाचित अध्यक्ष ढकालले संस्थाको उद्देश्य र मर्म अनुरुप अगाडि बढ्ने जनाउंदै खातामा हाल रहेको ७७ लाख रुपैयांलाई एक करोडसम्म पुरयाइ कोषको सही सदुपयोग र पारदर्शीता अपनाउने, सदस्यता विस्तार, जुलाइमा समर भेटघाट लगायतका मुख्य प्राथमिकता सुनाए ।
‘म यो च्यारिटी संस्थामा विगत १० वर्षदेखि आवद्ध भएकाले यसको गरिमा अझ बढाउने गरि काम गर्नेछु’, अध्यक्ष ढकालले नेपालीलिंकसंग भने, ‘बेलायतको नेपाली समुदाय र नेपालका लागि हित र कल्याणकारी कार्य गर्ने मेरो सोच छ ।’
उनले आफूलाई अध्यक्ष निर्वाचित गर्न भूमिका निर्वाह गर्ने सबैप्रति आभार पनि व्यक्त गरे ।
अधिवेशन पर्यवेक्षण गर्न प्रमुख पर्यवेक्षकहरु आशिषराज पन्त, पर्यवेक्षक विकल आचार्य, राजकुमार गुरुङ, ऋषि खनाल र धनबहादुर घलेको टिम खटिएको थियो ।