बिहीबार, माघ ३, २०८१
05:48 | ११:३३

लन्डनमा तेस्रो पटक काउन्सिलरको प्रतिष्पर्धामा मेयर विष्णु गुरुङ

नेपाली लिङ्क अप्रिल २०, २०२२

लन्डन–एक दशक बढी समय बेलायतको स्थानीय राजनीतिमा होमिएका भूतपूर्व गोर्खा मेयर विष्णुबहादुर गुरुङ तेस्रो पटक पुनः काउन्सिलर उम्मेदवारको प्रतिष्पर्धामा छन् ।

लन्डन बरो अफ हन्स्लोको ५६ औं मेयरमा लेबर पार्टीको प्रतिनिधित्व गर्दै गतवर्ष निर्वाचित नेपाली मूलका गुरुङ लन्डन क्षेत्रका पहिला मेयर हुन् । सन् २०१४ मा हन्स्लोकै हानवर्थ पार्क क्षेत्रबाट पहिलोपटक उनी काउन्सिलर निर्वाचित भएका थिए ।

सन् २०१४ देखि २०१५ मा डेपुटी मेयर समेत बनेका गुरुङ सन् २०१८ मा पुनः काउन्सिलर निर्वाचित भए । दुई पटक काउन्सिलर, एकपटक डेपुटी मेयर र हाल मेयरको जिम्मेवारी सम्हाल्दै आएका गुरुङ सन् २००५ देखि लन्डनमा बस चालकको रुपमा निरन्तर कार्यरत छन् ।

आगामी मे ५ तारिख हुन गइरहेको बेलायतको स्थानीय निर्वाचनमा गुरुङले लन्डन बरो हन्स्लोको हानवर्थ पार्क क्षेत्रबाट काउन्सिलरको उम्मेदवारी दिएका हुन् । गुरुङका साथमा लेवरकै फरहा कमरान पनि यतिबेला क्यान्डिडेट आउट कार्ड वितरणसहित चुनावी अभियानमा लागेकी छन् ।

‘सबै महिला उम्मेदवारहरुसंग प्रतिस्पर्धा हुँदैछ, जित्ने सम्भावना राम्रै छ तर, व्यक्तिलाई नभएर पार्टीलाई भोट दिने भएकाले पार्टीको पनि विश्वासिलो हुनुपर्छ’- गुरुङले नेपालीलिंकसंग भने । अन्तिम समयमा आएर आफ्नो उम्मेद्वारी पक्का भएकाले निकै छोटो समयमा धेरै दौडधुप चलिरहेको उनले बताए ।

आफ्नो क्षेत्रमा ‘डोर टु डोर’ क्याम्पेनमा लागिरहेको उनले बताए । मिश्रित समुदाय रहेकाले सबैको सहयोग अपरिहार्य र समस्त मतदाताको विश्वास जित्नुपर्ने उनको धारणा छ । काउन्सिलरमा विजय भएपछिको अवस्था के हुन्छ भन्ने अहिले भन्न नसकिने र त्यसको निर्धारणका लागि पुनः अर्को मतदान हुने उनले बताए ।

सन् २०१८ यता लेबर पार्टीको स्थानीय टिमले सडक, हाउजिङलगायतमा उल्लेखनीय सुधार गरेको हुँदा आफ्नो पार्टीले स्थानीयको मन जितेको उनी बताउंछन् ।

नेपाली समुदायले पर्याप्त सहयोग गरेपनि आफूले स्थापित गरेको गोर्खा नेप्लिज कम्युनिटी हन्स्लो (जीएनसीएच) ले हालसम्म खासै पहल नगरेको गुरुङको गुनासो छ ।

हिलिङडन गोर्खा नेप्लिज कम्युनिटीको तर्फबाट पनि आफूले सहयोग पाएको उनले बताए । चुनावी अभियानमा सहयोग गर्न स्थानीय नेपालीहरुलाई 
गुरुङले आग्रह गरेका छन् ।

करिब दुई दशक बेलायती सेनामा सेवा गरेका गुरुङ सन् १९९५ मा सेनाबाट अवकाश भएपछि सन् २००५ देखि सपरिवार बेलायतमा बस्दै आएका छन् । सन् २०११ बाट लेबर पार्टीको सदस्यता लिएका गुरुङ सन् २०१४ देखि स्थानीय राजनीतिमा निरन्तर संलग्न हुदै आएका हुन् ।

गोर्खा नेप्लिज् कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष समेत रहेका गुरुङ देवाचन बुद्धिष्ट सेन्टर यूकेको सल्लाहकार समेत हुन् ।

उनी आर्मड् फोर्सेस च्यारिटी (साफा) मा पनि आबद्ध रहंदै सामाजिक कार्यमा योगदान दिंदै आएका छन् । विशेषगरी भाषा समस्या भएका पूर्व गोर्खाहरुको लागि हाउजिङ सुविधा लगायत अन्य थुप्रै सहयोग गर्दै आएको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू